बालेनका सारथी वडा अध्यक्ष रिजालको पशुपतिमा अन्त्यष्टी

काठमाडौं,२१भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष एवं नेपाली कांग्रेस काठमाडौ-७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ।
बिहिवार बिहान निधन भएका वडा अध्यक्ष रिजालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्यष्टि गर्नुअघि राष्ट्रिय सभागृह पुगेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।
डेंगु संक्रमणपछि निमोनियाबाट ग्रस्त उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। रिजालको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि राष्ट्रिय सभागृहमा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई सहित राजनीतिक दलका नेता र महानगर प्रमुख शाह नगरप्रहरी प्रमुख राजु पाण्डेसहित वडा अध्यक्ष र नगरसभा सदस्य एवं सर्वसाधारण पुगेका थिए ।
स्व.रिजालको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिएको थियो ।पशुपति मन्दिर परिसरमा पनि केहिबेर अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिएको र दिउँसो ३:३० बजे दाहसंस्कार गरिएको हो।
दाहसंस्कारमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा,कांग्रेस काठमाडौ सभापति सबुज बानिया,कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्की,मेयर बालेन साह,उपमेयर सुनिता डङ्गोल लगायत वडा अध्यक्षहरु आर्यघाट पुगेका थिए।
रिजालको बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित भएपनी उनी महानगरपालिका प्रमुख बालेन शाहको मुख्य सारथि मानिन्थे । शुरुका दिनमा मेयरको आलोचक देखिएका रिजालले त्यसपछि हरेक मोडमा बालेनलाई खुलेर सहयोग गर्दै आएका थिए।



