एसिया कप: नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ । वर्षाले प्रभावित भएर केहीबेर अघि मात्र खेल सकिएको थियो ।

नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याउने क्रममा भारत १७-० को अवस्थामा हुँदा वर्षाले खेल रोकिएको थियो र समय धेरै लागेपछि भारतले डिएल पद्धति अनुसार २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य भारतले २०.१ ओभरमा विना विकेटको क्षति पुरा गर्यो । भारतका लागि कप्तान एवम् ओपनर रोहित शर्माले अविजित ७४ तथा शुभमन गिलले अविजित ६७ रन बनाए ।

नेपालका सोमपाल कामीले २ ओभरमा २३ रन खर्चे। करण केसीले ४ ओभरमा २६ रन दिए। सन्दीप लामिछानेले ४ ओभरमा ३९ र ललित राजवंशीले ४ ओभरमा २४ रन दिए। दिपेन्द्र सिंह ऐरिले २ ओभरमा ११ रन खर्चे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तारिफयोग्य ब्याटिङ गर्दै भारतलाई केही समय दबाबमा पनि राखेको थियो । नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनायो ‌।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी सोमपाल कामीले ४८ रन बनाए भने कुशल भुर्तेलले ३८ रन बनाए ।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले ३-३ विकेट लिए‌ भने मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पन्ड्याले १-१ विकेट लिए ।

हारसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय