घाम अस्ताउँदा पनि पोखरा उज्यालो !

काठमाडौ,१८भदौ।पर्यटकीय नगरी एवं गण्डकी प्रदेशको राजधानी शहर पोखरामा अब घाम अस्ताएपछी पनि उज्यालो हुने भएको छ।
‘उज्यालो पोखरा’ कार्यक्रम अन्तर्गत पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु भएपछि अब पोखरामा दिन रात उस्तै उज्यालो हुने भएको हो।
पोखरामा दुई हजार सात वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्ती जडान भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले यसको उद्घाटन गरेका छन् । यो कार्यमा नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको बराबर हिस्सेदारी छ। कुल १४ करोड ६५ लाख रुपैयाँको लगानीमा यो काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
स्मार्ट सडक बत्तीमा १२० र ९० वाटका बल्ब प्रयोग गरिएको र १६ मिटर अग्ला हाइमास्टमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएको छ।
पोखराका ६० किलोमिटर क्षेत्रमा यो बत्तीको पहुँच पुग्नेछ।बत्ती जडान गर्न ४ सय ३९ वटा नयाँ पोल जडान गरिएको छ ।यो प्रबिधि अनुसार सुर्यास्त भएपछि आफैं बत्ती बल्छ । त्यसपछि राती १० बजेसम्म बढी उज्यालो हुन्छ भने विस्तारै अटोमेटिक उज्यालो घट्दै जान्छ र बिहान सुर्यको किरण संगै बत्ति निष्क्रिय हुन्छ।

