पार्टी केन्द्रिय समितिले गरेको निर्णयलाई सभापति शेरबहादुर देउवाले नमान्ने संकेत देखिएपछी रुपान्तरण पक्षले छुट्टै कार्यक्रम लिएर कार्यकर्ता सम्म पुग्न लागेको हो। पार्टीले संगठन सुदृढीकरणका लागि ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’ चलाउने भनेपनी सभापति देउवाले त्यसलाई स्थगित गरेपछि रूपान्तरण पक्ष आक्रोशित बनेको छ।
पार्टीको साउन ३ देखि शुरु भएर साउन १० मा सकिएको केन्द्रीय समिति बैठकले भदौ १० गतेदेखि भदौ २४ गतेसम्म राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरे पनि भदौ ५ गते सभापति शेरबहादुर देउवाले अभियान स्थगित गरेका थिए। त्यसैगरी भदौ १५ सम्म भ्रातृसंगठन र बिभागलाई पुर्णता दिने भनिएकोमा त्यो पनि हुन नसकेको बिद्रोही पक्षको भनाइ छ। यो समूहले कार्यक्रम घोषणा गरेसँगै कांग्रेसमा भाँडभैलो शुरु भएको छ।
केन्द्रिय समिति बैठक अगाडी पनि कांग्रेस भित्रको रूपान्तरण पक्षधरले प्रदेश स्तरको भेला गरेको थियो। यो समुहलाई डा.शेखर कोइराला,महामन्त्री गगन थापा,केन्द्रिय सदस्य अजयबाबु सिवाकोटी,मधु आचार्य,प्रतिमा गौतम लगायत गुरु घिमिरे,देवराज चालिसे,जगदीश नरसिंह केसी,भुपेन्द्र जंग शाहीको समर्थन देखिएको छ। यद्यपि नेता कोइराला र महामन्त्री थापा कार्यक्रम र भेलामा देखिदैनन।

यो समुहले शनिबार पनि काठमाडौंमा बैठक गरेर निर्वाचन क्षेत्र केन्द्रित राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको छ। यसमा कांग्रेस भित्रका नेताकार्यकर्ताको साथ रहेपनी खुलेर कार्यक्रममा भने देखिदैनन । यो समुहका केही मकेहिले समेत छुट्टै भेला डाकेर महिला संघको नेतृत्वको बिरोध गर्दै आएको छ।
महिला संघका २२ केन्द्रिय सदस्य र १२ जिल्लाका सभापतिले यो अभियानलाई बल पुग्नेगरी गतिविधि अगाडी बढाएका छन् भने तरुण दल र नेपाल विद्यार्थी संघमा पनि रुपान्तरण पक्षधरको समुह खडा भएको छ।
हाल नेपाल महिला संघ,तरुण दल,नेपाल विद्यार्थी संघ लगायत धेरै जसो भ्रातृसंगठनमा देउवा पक्षको नेतृत्व छ। सभापतिले निशेधको राजनीति गर्न थालेको र आफुहरु पार्टी जोगाउन रुपान्तरण अभियान चलाउन बाध्य भएको अभियानका एक नेता जगदीश नरसिंह केसीले बताए।’हामी कुनै गुट चलाउदै छैनौं,सिङ्गो कांग्रेसको मुद्दा उठाउदै छौ’ उनले भने-‘प्रजातन्त्र र लोकतन्त्रको लागि लडेर आएको पार्टी कम्युनिस्टहरुसंग मिल्नु र आफ्नो अस्तित्व मेटाउन खोज्नु दुर्भाग्य हो, त्यसैले हामी पार्टी जोगाउन अग्रसर भएका हौं ।’
उनले पार्टीलाई माओवादी संग गठबन्धन गर्ने अवस्थामा होइन एक्लै भिड्नसक्ने पार्टी बनाउने अभियानको लक्ष रहेको समेत बताए। आवश्यक परे बिशेश महाधिवेशन बोलाउने र त्यसका लागि हस्ताक्षर अभियान सुरु गर्ने भन्दै केसीले रूपान्तरण अभियान अब देशको १६५ निर्वाचन क्षेत्रमा नै पुर्याइने जानकारी दिए।
केसीका अनुसार रूपान्तरण अभियान भदौ २४ गते काभ्रे क्षेत्र नम्बर २ बाट सुरू हुनेछ। यो क्षेत्र रुपान्तरण अभियानका नेता तथा कांग्रेस केन्द्रिय सदस्य मधु आचार्यको क्षेत्र हो। यो समूहले जगदीश नरसिंह केसी, गुरु घिमिरे,भुपेन्द्र शाही,देवराज चालिसे लगायतलाई संयोजनको जिम्मा दिएको छ।