टिकटक बन्द गराउन संचार मन्त्रालयमा उजुरी

काठमाडौ,१३ भदौ।मल्टिमिडिया मोबाइल एप टिकटक बन्द गराउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन परेको छ।
रवि लामिछाने विरुद्ध मुद्दा हालेर चर्चामा आएका सिन्धुलीका युवराज सफलले उक्त निवेदन दिएका हुन् । पछिल्लो समय उनी आफैं पनि टिकटकमा सक्रिय छन् ।उनी टिकटक लाइभ समेत बस्ने गरेका छन् ।
आफुलाई नेपाल समाजवादी मोर्चाका संयोजक समेत बताउने युवराजले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गर्दै यसबाट छाडातन्त्र, गालीगलौज, मानहानी,अश्लीलता र अपराध वृद्धि भएको भन्दै ध्यानाकर्षण समेत गराएका छन्।
युवराजले सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई निवेदन बुझाएर यो आग्रह गरेका हुन्। टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने र संचालन मापदण्ड, आचारसंहिता लागु गराउन समेत उनले माग गरेका छन्।
टिकटकमा गेमको नाममा लाखौं करोडौंको कारोबार हुने गरेको बताउँदै गिफ्ट प्राप्त गर्नेहरुले कुनै राजस्व नतिरेको पनि उनको दाबी छ।त्यसको समेत नियमन गरी विजेताले प्राप्त रकमको निश्चित प्रतिशत कर राज्यको ढुकुटीमा ल्याउन उनले भनेका छन्।

