बञ्चरेडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित

काठमाडौं, ११ भदाै । काठमाडाैं महानगरपालिकाले फोहोर फाल्दै आएको बञ्चरेडाँडा क्षेत्रका बासिन्दा पुनः आन्दोलित भएका छन्।
संघीय सरकार र काठमाडौं महानगरपालिका समेतले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असोज १ गतेदेखि फोहोर बिर्सजनमा रोक लगाउने उनीहरूले बताएका हुन्।
उनीहरूले फोहोर र मानिस सँगै बस्न नसक्ने भन्दै उनीहरूलाई त्यहाँबाट हटाएर फोहोरको सही ढंगले व्यवस्थापन होस् भनेर प्रधानमन्त्री कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्मलाई ध्यानाकर्षण गराएकाे तर कतैबाट पनि सुनुवाइ नभएकाे गुनासाे गरेका छन् ।
‘प्रधानमन्त्री कार्यालयदेखि, सुरक्षा निकायसम्म पत्र बुझाएका छौं,’ उनीहरूले भने, ‘आज दिउँसो पत्रकार सम्मेलन गरेर सरकारलाई जानकारी गराउँछौं। यसबीचमा सरकारले विकल्प दियो भने हामी चुप लाग्छौं। अन्यथा असोज १ गतेदेखि हाम्रो ठाउँमा फोहोर फाल्न दिँदैनौं।’
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यका १८ वटाभन्दा बढी नगरपालिकाको दैनिक ११ सय बढी टन फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा व्यवस्थापन हुँदै आएको छ।

