बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित

सिन्धुपाल्चोक, ९ भदौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको छ ।

विद्यालय वरपरको अन्य भवन पनि जोखिममा रहेका छन् भने ग्याल्थुम बजार पनि जोखिममा परेको छ ।

शुक्रबार बिहान सोही विद्यालयको दुई वटा शौचालय बगाएको थियो । यद्यपी बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन् । मेलम्ची–भोताङ सडकखण्डस्थित मेलम्ची बजार पारीको बाटोसँगै मेलम्ची नवलपुर सडकखण्ड सडक पनि सञ्चालनमा आएको छ । मेलम्ची–तालामाराङअन्तर्गत सिमखेतमा जमेको लेदो पन्छाएसँगै यातायात आवतजावत हुन थालेको छ ।

मेलम्ची–४ स्थित पिप्ले–पाटी भञ्ज्याङ बाटो सञ्चालनमा आए पनि जोखिम कायमै रहेको स्थानीयले बताएका छन् । पहिराले मेलम्चीनगरका आधा दर्जन घर जोखिममा छन् । आवश्यक सतर्कता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ ।

विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेसन लाइनको पोल ढलेको छ भने ठाउँ ठाउँमा विद्युत् अवरुद्ध भएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय