बौद्धमा गाइजात्रा र रोपाइँजात्रा मनाइने

काठमाडौ।काठमाडौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा बिगत बर्षमा जस्तै यसबर्ष पनि गाइजात्रा र रोपाइँजात्रा मनाइने भएको छ।
काठमाडौ महानगरपालिका वडा नम्बर ६ र बौद्धनाथ क्षेत्र बिकास समितिको आर्थिक सहयोगमा गाइजात्रा तथा रोपाइँजात्रा(घोनाइ) मनाउन लागेको आज बौद्ध तामाङ गुठीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
आगामी भदौ १५ गते गाइजात्राको भोलिपल्ट मृतकका आत्मको शान्तिको कामना गर्दै यो पर्व मनाउन लागिएको हो। यो जात्रा कहिलेदेखि मनाउन थालियो भन्ने अभिलेख नभएपनी मल्लकालिन राजा प्रताप मल्लको पालादेखी नै यो पर्व  मनाउन थालिएको देखिन्छ।
काठमाडौ महानगरपालिका वडा नम्बर-६ का वडा अध्यक्ष भुवन लामाले यो अभियानमा महानगरको सम्पदा शाखा मार्फत १५ लाख दिने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए। उनले समाजिक सद्भाव र संस्कृति संरक्षण अभियानमा यो जात्रा महत्त्वपूर्ण हुने पनि बताए।

यो कार्यक्रमलाई बौद्धनाथ क्षेत्र बिकास समितिले पनि १० लाख आर्थिक सहयोग दिने अध्यक्ष राजकुमार लामाले जानकारी दिए। सो अवसरमा विभिन्न प्रतिस्पर्धामा पुरस्कारको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ।
धार्मिक महत्वका साथै राष्ट्रिय एकताको प्रतिक र सम्पदाको गरिमाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसगै पर्यटकीय दृष्टिकोणबाट समेत यस क्षेत्रले विशेष महत्व राख्दछ ।
बौद्ध ऐतिहासिक धार्मिक एवं सांस्कृतिक नगरी हो । यहाँ वर्ष भरि नै विविध सांस्कृतिक जात्रा एवं चाड पर्वहरु मनाउने गरिन्छ । परम्परागत रूपमा काठमाडौ उपत्यकामा मनाइने गाईजात्रा पर्वको आफनै इतिहास रहि आएकोमा गाईजात्राको भोलि पल्ट मनाउने बौद्धको रोपांइजात्रा तिनै सांस्कृतिक जात्रा एवं पर्वहरु मध्ये छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो ।

विशेष गरी महिना भर खेतीपातीका चटारोलाई विर्सन खेतवारीमा आफ्नो रोपाइ सम्पन्न भई सकेपछि फुर्सदका दिनमा किसानहरु रोपाइँको झल्को दिने गरी रोपाहार, बाउसे र हलीको प्रतिक स्वरुप श्रृंगार एवं अभिनय गर्दै रोपाईजात्रामा सहभागी भई हर्षोल्लासका साथ रमाइलो गर्छन् ।
रोपाइजात्रालाई स्थानीय तामाङ समुदायले तामाङ भाषामा धीनाइ जात्रा पनि भनिन्छ । यस जात्रामा हास्यव्यङ्ग्ग्य, झांकी, नाचगान, लाखे घोनाई नाच, आदि समावेश हुन्छन् । जात्रामा विद्यमान विकृति र विसंगतिहरुको बारेमा व्यङ्ग्य गरिन्छ ।
यो कार्यक्रम सम्पन्न गर्न गाईजात्रा मूल समारोह समितिको संयोजनमा २१ सदस्यीय गाईजात्रा तथा रोपाइजात्रा (घोनाई) मुल समारोह समिति गठन गरिएको छ । उक्त जात्रामा १० विविध विधाहरूमा इच्छुक जो कोही प्रतिस्पर्धीको रुपमा सहभागी गराउने तथा प्रतिस्पर्धी मध्येबाट विधागत उत्कृष्ट कलाकारहरुलाई प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार नगद प्रदान गरिने छ ।
प्रतिस्पधा विधाहरु जस्तै लाखे, बाउसे, रोपाहार, झाकी, हास्य-व्यंग्य, हल गोरु, घोडा, घोनाई नाच, बाल रोपार र बाल बाउसे आदि रहनेछन् । विगतका वर्षहरुमा भन्दा यस पटकको यो जात्रा फरक एवं उत्कृष्ट हुने आयोजकले दावी गरेको छ ।
पत्रकार सम्मेलनमा वडा नम्बर-६ का वडा अध्यक्ष भुवन लामा,बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष राजकुमार लामा, आयोजक समितिका प्रबक्ता सम्पुर्ण कुमार लामा र टासीकुमार लामा,मुल समारोह समिति संयोजक जय मंगल लामाले पत्रकारका जिज्ञासाको उत्तर दिएका थिए।
बौद्ध घ्याङ गुठिले चासो नदिएकोले सम्पदा जोगाउन र संस्कृति संरक्षणलाई निरन्तरता दिइराख्न यो कार्यक्रम आयोजना गरिएको बक्ताहरुले बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय