शितलनिवासमा सर्वदलीय बैठक, एमाले भने अनुपस्थित

काठमाडाैं, ५ भदाै । मङ्गलबार विहान राष्ट्रपति निवास शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले देश र गणतन्त्रप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले यतिबेला कताकता संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको बताएका हुन्।
सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दल मात्र सहभागी भएका थिए । बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रक्षामन्त्रीसमेत रहेका उपाध्यक्ष पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड, गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट भूमि व्यवस्था मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र सन्तोष परियार, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान र अनितादेवी साह, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, एकीकृत समाजवादीबाट मेटमणि चौधरी, जसपाबाट प्रमुख सचेतक प्रदीप यादवलगायत नेता सहभागी भएका थिए।
यस विषयमा जिज्ञासा राख्दा एमाले उपाध्यक्ष सुवास नेम्वाङले सर्वदलीय बैठकबारे जानकारी नभएको दाबी गरे।

