सुन प्रकरण: एमाले पदाधिकारीका छोराहरु माथी लाग्यो आरोप !

काठमाडौ ।पछिल्लोपटक पक्राउ परेको ‘ब्रेक शु’को नाममा भन्सार पास भएको ६० किलो सुनका बिषयमा नयाँ तथ्य बाहिर आएको छ।
सुन तस्करी गरेको आरोपमा पक्राउ परेका रेष्टुरेन्ट व्यवसायी एवं तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले प्रहरीसंगको बयानमा यो तथ्य खुलाएको स्रोतको दावी छ। उनले एमाले बरिस्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा र अर्का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा आफ्नो व्यापारिक साझेदार भएको दाबी गरेका छन् । बादलका छोरा प्रतीक थापा नक्कली भुटानी शरणार्थी प्रकरणमा समेत जोडिएका र हाल फरार सुचिमा रहेका ब्यक्ति हुन् ।
पक्राउ पर्दा ब्रेक शु समेत १०० किलो भन्दा माथी भएपनी पगालेर जोख्दा ६० किलो ७ सय १६ ग्राम भएको यो सुन तस्करीका बिषयमा प्रहरीले गरेको अनुसन्धान र सोधपुछका क्रममा दावा छिरिङले केही वर्ष अघिबाटै नेपालका शीर्ष नेताका निकटस्थ व्यक्तिहरुसँग मिलेर काम गरिरहेको समेत भनेका छन् ।
माओवादी नेता बर्षमान पुनसंग समेत नाम जोडिएका दावालाई पक्राउ गरेलगत्तै राजस्व अनुसन्धान विभागले पहिले सोधपुछ गरेको र पछि सीआईबीमा बुझाएको थियो।
स्रोतका अनुसार बयानमा दावाले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापासँग मिलेर काम गरेको तथा आफूलाई अप्ठेरो पर्दा उनीहरुले नै सहयोग गर्ने गरेको समेत भनेका छन् । यद्यपि यसबारे नेकपा एमाले पार्टी र नाम जोडिएका नेताले केही बोलेका छैनन् ।

