एमालेमा विद्या भण्डारीको ‘कम्ब्याक’ कति सम्भव ?

काठमाडौं, ३१ साउन । गणतन्त्र नेपालको संविधान जारी भएपछि लगातार (२०७२ कार्तिक ११ देखि २०७९ फागुन २८ सम्म) ७ वर्ष राष्ट्रपति भएर गत फागुनदेखि गुमनाम रहेकी विद्यादेवी भण्डारी पुनः राजनीतिमा ‘कम्ब्याक’ हुने कुरा अहिले चर्चामा छ।

राष्ट्रपति निर्वाचित हुनु अगाडी नेकपा एमालेको उपाध्यक्ष रहेकी भण्डारीले पुनः एमालेमै फर्केर राजनीति गर्ने कुरालाई अहिले हो वा होइन ? भन्ने दुई खाले प्रश्नको उत्तर एमाले भित्र र बाहिर पनि खोजिन थालेको छ । यसको एकसरो जवाफ दिदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘होइन’ र संभव छैन भनिसकेका छन् । तर,एमाले भित्रै विद्या भण्डारीको खोजी भैरहेको र पार्टीलाई एकताबद्ध बनाउन सक्ने नेता निवर्तमान राष्ट्रपति भण्डारी हुनसक्ने अर्थ लगाइएको पनि छ।

नेकपा एमालेको मुख्यालयमा दुई दिन अघि भएको पत्रकार सम्मेलनमा पनि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारी एमालेमै फर्किएर राजनीति गर्न लागेको हल्ला चलाएर एमाले पार्टीभित्र विग्रह ल्याउन खोजिएको र त्यो सम्भव नहुने बताए। अध्यक्ष ओलीले होइन भनिरहँदा पछिल्लो समय एमालेका केही प्रभावशाली नेताहरू भने भण्डारी निवास बुढानिलकण्ठ पुगेर भेटघाट र छलफल गरिरहेका छन् । एमाले उपाध्यक्ष बिष्णु पौडेल समेतले भण्डारीलाई भेटेको कुरा बाहिर आएपछि एमाले नेतृत्व समेत यसमा चनाखो बनेको टिप्पणी समेत हुन थालेको छ।

एमाले नेताहरूले भेटेको कुरालाई समेत ओलीले एमाले नेताहरुले पूर्वराष्ट्रपतिलाई भेट्नुको अर्थ राजनीतिमा स्वागत गर्नु होइन भन्दै आफुले पनि भेट्न सक्ने र त्यो भेट सम्मानको भेट मात्रै हुने बताए ।
उनले विद्या भण्डारी पुर्व राष्ट्रपति मात्रै नभएर एमालेकै पुर्व उपाध्यक्ष भएकोले भेट्न जानु कुनै नयाँ कुरा नभएको समेत जिकिर गरे।‘एमाले भित्र कुनै समस्या ल्याउन सकिन्छ कि भनेर कसैले सपना देख्न पाउछ तर,पूरा हुँदैन’ उनले भने-‘उहाँ हाम्रो पार्टीको पूर्वउपाध्यक्ष हो।हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु ठूलो कुरै होइन।’

हालका राष्टपति रामचन्द्र पौडेल फागुन २५ मा निर्वाचित भएपछि २०७९ फागुन २८ गतेदेखि पुर्व राष्ट्रपति भएकी भण्डारीको एमाले पार्टी भित्र अहिलेपनी ठुलै समूह समर्थनमा रहेको देखिन्छ। राष्ट्रपति हुँदा पनि उनले एमाले भित्रका विवादलाई सतहमा आउन नदिने र बिकल्प समेत बताउने गरेको चर्चा हुने गरेको थियो। पुर्व मुख्यमन्त्री शेरधन राई, डोरमणी पौडेल,पृथ्वीसुब्बा गुरुङ लगायत एमालेका पदाधिकारी र सदस्य अझैपनी भण्डारी निकट मानिन्छन् ।

विद्यादेवी भण्डारी एमालेका तत्कालीन महासचिव स्व.मदन भण्डारीकी पत्नी हुन्।२०५० जेठ ३ गते दासढुङ्गा दुर्घटनामा परी मदन भण्डारीको मृत्युु भएपछि विद्या भण्डारीले सक्रिय राजनीतिमा आफुलाई समर्पित गरेकी हुन् ।विद्या भण्डारी २०५४ को छैटौं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य र त्यसपछि उपाध्यक्ष सम्म भइन भने यसबीचमा रक्षामन्त्री समेत बनेकी थिइन् ।

एमालेमा हुँदा पनि पावर सेण्टर नै मानिएकी भण्डारी एमालेको राजनीतिमा ‘कम्ब्याक’ हुँदा त्यसको असर बर्तमान अध्यक्ष ओली सहित उनी पक्षीय धेरै नेतामा पर्न सक्ने भएकोले केही नेताहरू भने भण्डारीलाई राजनीतिमा आउनबाट रोक्न खोजिरहेको भन्ने चर्चा समेत एमाले बृत्तमा चलेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय