सोमबारको व्रत :पशुपतिको यात्रा, टिकटकको जात्रा !

काठमाडौ।आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिव मन्दिरमा पूजाअर्चना गर्ने श्रद्धालुको भिड लागेको छ ।
हरियो र पहेंलो पहिरनमा सजिएर महिलाहरू बिहानै शिव मन्दिर पुग्छन् । तर,उनीहरुको यो दौडधुप केबल पूजा गर्न मात्रै नभै विभिन्न रुप र स्वरुपमा ‘टिकटक’ बनाउन बढी जोड देखिन्छ।मन्दिरमा पूजाअर्चनाका लागि भन्दै घरबाट निस्केका महिलाहरु सोह्र शृङ्गारमा सजिएर मन्दिर पुग्नु अगाडी नै ‘टिकटक’ खिच्न मस्त देखिन्छन् । मन्दिर मै पुगेर पनि उनीहरुको ध्यान शिवजीमा भन्दा बढी टिकटक र फोटो मै हुन्छ। पूजाको थालीलाई पनि फेसनको रुपमा हातमा लिने अनि फोटो आयो कि आएन ? टिकटक गीत मिल्यो कि मिलेन ? भन्ने चिन्ता उनीहरुमा देखिन्छ।
टिकटक बनाउनकै लागि सजिसजाउ भएर मन्दिर पुग्ने र विभिन्न गीतमा कम्मर मर्काउँदै टिकटक बनाउनेले मन्दिर परिसरमा अनावश्यक भिड पनि गराएको देखिन्छ। जसलाई ब्यबस्थापन गर्न मन्दिरका सुरक्षा गार्डलाई हम्मे हम्मे हुन्छ। कतिपय ठाउँमा मन्दिर अगाडी लगाएको फूलको हांगा भाच्ने,दुबो कुल्चिने र रंग रोगन बिगार्ने समेत गर्दछ्न।
साउन भनेको विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पुज्ने महिना हो । तर, धेरैले शिवजीलाई भन्दा टिकटक र फोटोग्राफीलाई बढी ध्यान दिएको स्पस्ट देखिन्थ्यो। अन्तिम सोमबार पशुपतिनाथ,सर्वेश्वर महादेव, मत्स्यनारायण,सन्तानेश्वर,गोकर्णेश्वर मन्दिर, कोटेश्वरको महादेवस्थानमा दर्शन गर्न जाने अधिकांशको ध्यान टिकटक बनाउनमै बितेको देखिन्थ्यो।
टिकटक बनाउनु नराम्रो होइन तर,ठाउँ कुठाउँ मन्दिर,घाट,हस्पिटलको बेड र आफन्तको घर पुग्दा समेत टिकटकमै ध्यान दिनु मानवीय संवेदना भन्दा बाहिरको कुरा हो। दुर्घटनामा परेको मानिसलाई बचाउन छाडेर टिकटक खिच्नु,बाढिमा बग्दै गरेको बच्चालाई बचाउन भन्दा मोबाइल तेर्साएर भिडियो खिच्नु,झगडा परेको ठाउँमा सहजीकरण गर्नुको सट्टा मोबाईलमा खिचेर सार्बजनिक गर्नु अहिले सामान्य भैसकेको छ। यसले हाम्रो समाज र संस्कृतिको खिल्ली उडाउने मात्रै होइन मानवीय संबेदना हराउँदै गएको स्पस्ट हुन्छ।
मन्दिर गएको मानिसले भित्रैदेखि भगवानको भक्ति गर्ने भन्दा पनि दर्जनौं टिकटकमा नाचेर घर फर्कने परम्परा नै बन्न थालेको छ। फेसबुक वा टिकटक मनोरञ्जनको साधन भएपनी यो हाम्रो परम्परा र संस्कृतिको धरोहर पक्कै होइन ।मन्दिर जाने नाममा अनावश्यक भिड गर्ने तर,मन्दिरमा भन्दा टिकटकमा मात्रै ध्यान दिदै जाने हो भने त्यसले हाम्रो धर्म संस्कृति र धार्मिक महत्वलाई नै कम गराउँछ र समाजलाई विकृतितिर धकेल्न थाल्छ।


