तस्कर र माफियाको नेतृत्व प्रचण्ड र ओलीले गरेका छन्-जितजंग

काठमाडौ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य जितजंग बस्नेतले मुलुकमा तस्करी र माफियातन्त्रको नेतृत्व माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेको ठोकुवा गरेका छन्।
काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भोलि भ्रष्टाचार गर्नको लागि र माफियालाई बचाउन केपी ओली लागिपरिरहेका र उनलाई एमालेकै महेश बस्नेतलगायत नेताले साथ दिइरहेकाे आरोप समेत लगाए।
कांग्रेस नेता बस्नेतले एमालेका गोकुल बाँस्कोटा र बिष्णु पौडेल पनि यसमा संलग्न भएको भन्दै प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो पार्टी बाहेकका नेतालाई मात्रै भ्रष्टाचारी देखेको बताए । उनले यस्तै रवैया देखाउदै गएमा प्रचण्ड पनि जेल जाने निश्चित भएको ठोकुवा गरे। भ्रष्टाचार मुद्धामा जेल परेका बाहिरी छिमेकी मुलुकका उदाहरण दिँदै उनले आफ्नो पार्टी बाहेककालाई मात्रै भ्रष्टाचारी देख्दा प्रचण्ड पनि जेल जानुपर्ने दिन आउन सक्ने उनको भनाई थियो।
अरुको कारण नभै प्रचण्ड स्वयं आफ्नै मुर्खताले जेल जाने उनको तर्क थियो।उनले भने,‘नेपाली कांग्रेस हिजो राजासँग पनि लडेको हो, सेनासँग पनि लडेको हो र माओवादीसँग पनि लड्न चाहन्छ।’
प्रचण्डले भ्रष्टाचार मुद्धामा माओवादी केन्द्रका नेताहरुलाई संरक्षण गरेर अन्य नेतालाई निसाना बनाइरहेको भन्दै बस्नेतले यस्तै अवस्था रहने हो भने प्रचण्डका विरुद्ध कांग्रेस लड्न तयार भएको समेत उनले बताए ।‘हामी गठबन्धनमा छौँ, भ्रष्टाचारका फाइल खोलौँ,खुल्नुपर्छ, उच्चस्तरीय आयोग गठन गरौं’ उनले भने-‘तर,
आफ्नो नेतालाई भ्रष्टाचारी नदेख्ने, अर्को नेतालाई देख्नेहरु हिजो प्रचण्डले हत्या गरेको बिषयको पनि फाइल खुल्नु पर्छ, भौतिक संरचना भत्काएको घटनाको पनि फाइल खुल्नुपर्छ, बैंक लुटेको कुराहरुको पनि फाइल खुल्नुपर्छ। राजनीतिक घटनाक्रम अघि बढाउन सबै फाइल खुलाउनुपर्छ।’
उनले सुन तस्करी मुद्धामा माओवादी नेताहरु सबै चोखो देखाउन खोजिएको भन्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठदेखि बर्षमान पुन र कृष्ण बहादुर महरालाई बचाएको आरोप लगाए।

