जनताको समस्या उस्तै : दलहरू भन्छन् ‘मिसन-०८४’ !

काठमाडौ।आम निर्वाचन सम्पन्न भएको एक बर्ष नहुदै राजनीतिक दलहरू आगामी चुनावलाई लक्षित गर्दै ‘मिसन-०८४’ अभियानमा लागेका छन् ।

गत मंसिर-४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको परिणामले कतै पनि एउटै दलको बहुमत नआएपछि उनीहरुको ध्यान ०८४ को चुनावमा गएको हो। अहिलेदेखी आगामी ४ बर्ष जनताको पक्षमा के गर्ने ? भन्ने कुरालाई बेवास्ता गर्दै नयाँ पुराना सबै दलले ०८४ मा बहुमत ल्याउने र एकल सरकार गठन गर्ने अपत्यारिलो र हास्यास्पद अभिव्यक्ति दिन थालेका हुन् ।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी,जनमत र नागरिक उन्मुक्तिले मिसन-०८४ भन्दै सम्पुर्ण ध्यान त्यतै लगाएका छन् । उनीहरुले पुराना दल नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रलाई आगामी निर्वाचनमा खुम्च्याउने र आफुहरुको सरकार बन्ने ठोकुवा समेत गरेका छन् ।
उता पुराना दल भनिएका कांग्रेस,एमाले र माओवादीले पनि नयाँ दलको हल्ला मात्रै भएको र ०८४ को निर्वाचनमा आफ्नै एकल सरकार हुने गरि पार्टी गतिविधि सुरु गरिसकेको भनेका छन् । एमालेले आगामी चुनावमा सबै प्रदेश र संघीय सरकारमा एकल बहुमत ल्याउने बताएको छ।नेपाली कांग्रेसले पनि आफ्ना पार्टी कार्ययोजना भित्र आगामी निर्वाचन लक्षीत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
यता,तेस्रो र कमजोर शक्ति भएर पनि सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले पनि ०८४ मा अहिले भन्दा राम्रो पोजिसन ल्याउने बताएको छ। पछिल्लो समय भ्रष्टाचारको फाइल खोल्ने कुराले जनताको समर्थन पाएको माओवादीले पनि केन्द्रिय समिति बैठकपछि पार्टी संगठन सुदृढीकरण र मिसन ०८४लाई प्राथमिकतामा राखेको छ।
स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा पहिचान पक्षधरलाई बहुमत दिए संसदबाटै सबै प्रदेशका नाम संशोधन गर्ने आवश्वास समेत दिन थालेका छन् । यहि कुरालाई माओवादीले मिसन-०८४ अभियान बनाउने भएको छ। बुधबार काठमाडौमा विश्व आदिवासी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचानको पक्षधरहरुको सदनमा बहुमत नभएकाले निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै ०८४ मा बहुमत चाहियो भन्न भ्याए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय