माओवादीमा अझै प्रचण्ड पथ हावी !
बैठकमा १५० केन्द्रिय सदस्यले बोल्नै पाएनन्
काठमाडौं।केन्द्रिय समिति बैठक अगाडी ‘बैठक लाइभ’ गर्ने प्रचार गरेको सत्तारुढ नेकपा माओवादीले आखिर बैठक लाइभ गर्न त सकेन त्यसमाथि १५० भन्दा बढी केन्द्रिय सदस्यलाई बोल्न समेत दिएन।
गत बुधबार सुरु भएको केन्द्रिय समिति बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेपछि आजै (आइतबार) सकिने छ। हल बुकिङ सकिएको भन्दै पाँच दिनसम्म जारी केन्द्रीय समिति बैठक १५० जनाले बोल्न बाकी हुँदै समापन गर्न लागिएको स्रोतले बतायो।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले बोल्न बाकी केन्द्रिय सदस्यलाई ‘लिखित दिनुस हेरेर उत्तर दिन्छु’ भनेपछि सदस्यहरुले ‘हुन्छ’ भन्नुपरेको एक केन्द्रिय सदस्यले बताए । माओवादी पार्टी भित्र अहिले पनि प्रचण्डकै हाल हुकुम चल्दै आएको छ। यसैलाई माओवादीले ‘प्रचण्ड पथ’ भन्ने गरेको छ।
केन्द्रीय सदस्यहरुलाई अध्यक्ष प्रचण्डले ‘एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ । भोलि अर्कैको कार्यक्रम छ । यति संख्या अट्ने अर्को हल खोज्दा पाइएन। त्यसैले आजै बैठक सकौ’ भनेका थिए।
यद्यपि माओवादी बैठकमा यसअघि बोलेका नेताले पनि केहिले प्रचण्डको आलोचना गरे पनि धेरैले अध्यक्ष प्रचण्ड र उनी नेतृत्वको सरकारको बचाउ गरेका थिए। केही नेताले त अध्यक्ष प्रचण्डलाई महान नेता भन्दै देवत्वकरण समेत गरेको भन्दै केही केन्द्रीय सदस्यहरुले असहमति जनाएको बुझिएको छ।
यसैगरी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर समेत गरेको माओवादी स्रोतले बतायो। जस अनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टी र सरकारको जिम्मा छ। त्यसैगरी उपाध्यक्ष कृष्ण बहादुर महारालाइ समाजवादी मोर्चा र एकता बार्ता,अर्का उपाध्यक्ष अग्नि सापकोटालाई प्रचारप्रसार तथा पम्फा भुषाललाई जनबर्गिय संगठनको जिम्मेवारी दिइएको छ।

