सारुकको ‘सुसाइट नोट’ मोबाइलमा भेटीयो !

काठमाडौ ।नेपाली चलचित्रका नायक सारुक ताम्राकारको आत्महत्या पछि उब्जिएको धेरै प्रश्नको उत्तर नभेटीएको बेला उनको मोबाइलमा ‘सुसाइट नोट’ भने फेला परेको छ।
गत असार २१ गते राती काठमाडौ रातोपुल स्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका नायक सारुकको मोबाइलमा सुसाइड नोट फेला परेको प्रहरी स्रोतले आज पुष्टि गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको स्रोतले जनाएको छ। स्रोतका अनुसार, सारुकले नोटमा ‘आफूलाई विवादमा नपार्न र कसैलाई दोष नदिन’ भनेका छन् ।
सारुकले सोही नोटमा बुबा आमालाई समेत सम्झिएका छन् ।जसमा ‘म फेरि पनि यहि परिवारमा जन्म लिन पाउ’ भन्ने आसय सहित उनले आत्महत्या गर्दैछु भन्ने संकेत सहित सो नोट लेखेको पनि पुष्टि हुन्छ। उनी नेपाली चलचित्रका अब्बल कलाकार सानू ताम्राकारका एक मात्रै सन्तान हुन् ।
नयाँ नेपाली चलचित्र ‘ह्यास्ट्याग माया’को सुटिङमा ब्यस्त रहेकै बेला सारुकको आत्महत्या भएपछि प्रहरीले अनुसन्धानमा सहयोग पुगोस भनेर त्यस चलचित्रका निर्देशक,निर्माता लगायतलाई सोधपुछ गरिसकेको छ। यहि बेला सारुकको सुसाइट नोटमा भने -‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’ भन्ने आसयको नोट भेटीएको प्रहरी स्रोतको भनाइ छ।
उनको मृत्यु पछि अनेक कुरा बाहिर आइरहेको बेला सारुककी मिल्ने साथी समेत रहेकी सन् २०११ की मिस नेपाल मलिना जोशीले भने सामाजिक संजाल मार्फत धेरै कुरामा प्रश्न गरेकी छिन् । उनले के कारण सारुकले आत्महत्या गरेका हुन् ? अन्तिम दिनहरुमा उनीसँग को–को थिए ? उनीसँग भएको अन्तिम संवादको कुराकानी के थियो ? उनको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ? जस्ता प्रश्न जोशिको छ ।

