कागेश्‍वरी मनोहराले उद्यमशिलता प्रबर्द्धनमा जोड दिने

लगानी गर्न स्वरोजगार कोषसँग सम्झौता

काठमाडौं, १३ साउन । कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्कीले आफ्नो नगरपालिकाको मुख्य उद्देश्य उद्यमशीलता प्रवर्द्धन भएको बताएका छन् । नगरमा लगानी भित्र्याउने योजना अनुसार हालै युवा तथा साना व्यवसायी स्वरोजगार कोष र कागेश्वरी मनोहरा नगरपालिका बिच साझेदारीमा सहकारी संस्थालाई उद्यमशिलता कर्जा लगानी गर्ने विषयमा भएको समझदारीपत्रमा हस्ताक्षर गर्दै मेयर कार्कीले सो धारणा राखेका हुन् ।

सो अवसरमा स्वरोजगार कोषसंग प्रमुख कार्कीले उद्यमशीलतालाई प्रबर्द्धन गर्न एक सहकारी, एक उद्यमशीलता र प्रत्येक सहकारीले बचतको ५ प्रतिशत उद्यमशीलतामा लगानी गर्नुपर्ने नीति लिएको समेत बताए । नगरपालिकाले उद्यमशीलता प्रबर्द्धनका लागि विभिन्न निकाय र संघसंस्थासँग समन्वय गरेर अगाडि बढिरहेको भन्दै मेयर कार्कीले यो सम्झौता पनि त्यसैको निरन्तरता भएको बताए।

समझदारीपत्रमा कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोका र नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले हस्ताक्षर गरेका छन्।नगरपालिकामा आयोजित कार्यक्रममा कर्जा लगानी प्रकृया सम्बन्धमा समेत छलफल भएको थियो । यस योजना अन्तर्गत नगरपालिकाबाट विनियोजीत १ करोड र कोषको तर्फबाट थप १ करोड गरी २ करोड रकम लगानी गरिनेछ ।

सम्झौता अनुसार सहकारीलाई ४ प्रतिशतमा कोषबाट कर्जा प्रदान गर्ने र सहकारीले सदस्यलाई कुनै सेवाशुल्क नलिई ८ प्रतिशतमा कर्जा प्रदान गर्नुपर्नेछ ।

एक सहकारी, एक ब्यवसायी प्रबर्द्धन, स्वरोजगार उत्पादन र सहुलीयत कर्जा प्रदान गर्ने यसको मुख्य उद्देश्य रहेको छ।यो कार्यक्रमले कर्जा लगानी तथा असुली कार्यविधि, २०७७ बमोजिमको मापदण्ड पुगी छनौट भएका सहकारीलाई क्रमिक रुपमा समेट्दै जाने र नगरपालिकामा स्वरोजगार प्रबर्द्धनका साथै उद्यमशिलता बिकास गर्ने लक्ष्य लिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय