धरानका मेयर हर्क साम्पाङलाई अदालतको ‘ब्रेक’

काठमाडौं, १२ साउन । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षरोपण अभियानमा उच्च अदालत विराटनगरले ब्रेक लगाइदिएको छ।
अघिल्लो शनिबार मेयर सहितको टोलीले सर्दु जलधारा क्षेत्रको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा वृक्षरोपण गरेपछि विवाद अदालत सम्म पुगेको थियो। सोही बिषयमा उच्च अदालतले निवेदनको अन्तिम टुंगो नलागेसम्म सो जग्गामा वृक्षरोपण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
धरान ४ की रोजिना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्चका न्यायाधीश मिलन राईको इजलासले अधिकारीले भोगचलन गरिरहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्ने जस्ता कार्य निवेदनको अन्तिम टुङ्गो नलागेसम्म नगर्न आदेश दिएको हो ।नगरपालिकाले धरान बाँझगरा गाविस वडा नम्बर ९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा वृक्षरोपण गरेपछि जग्गाधनी र मेयर बिच लफडा भएको थियो। उनीहरुको गाली गलौज सामाजिक संजाल फेसबुक र टिकटकमा समेत भाइरल छ। उक्त जग्गा रोजिना अधिकारीको नाममा धनीपुर्जा रहेको जग्गा हो।
अधिकारीले दिएको रिट निवेदनको सुनुवाइ गर्दै न्यायाधीश राईको इजलासले यसमा के कसो भएको हो, निवेदकको मागबमोजिम आदेश किन जारी नहुनु पर्ने हो बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा हाजिर हुन धरानका मेयर हर्क साम्पाङलाई आदेश समेत दिएको छ ।



