बैंकिङ विज्ञ विएन घर्तीको पुस्तक ‘बैंकिङ अनुशासन-दिगो विकासका लागि’ सार्वजनिक 

काठमाडौ। बैंकिङ विज्ञ विएन घर्तीद्वारा लिखित बैंकिङ क्षेत्रमा रुचि भएका सबैका लागि उपयोगी नयाँ पुस्तक “बैंकिङ अनुशासन–दिगो विकासका लागि” बजारमा आएको छ ।
झण्डै तीन दशक बैंकिङ क्षेत्रमा बिताएका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमुलक लेख रचनाहरु पुस्तकमा समावेश गरेका छन् । बैंकिङ क्षेत्रका विविध विषयलाई विश्लेषण गर्दै नीतिगत मार्गदर्शन गर्ने, सचेतना जगाउने र जीवन उपयोगी हुने लेख तथा विचारहरु पनि उनको पुस्तकमा छन् ।
कर्मचारीहरूलाई अनावश्यक बिक्री लक्ष्य दिँदाका बेफाइदा, पारिश्रमिक दिनेगरी व्यवसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण, बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुदाँको प्रभाव, फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विक्रिति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्था लगायतका सामग्रीहरुका कारण पुस्तक निकै ज्ञानवर्द्धक रहेको बैंकिङ क्षेत्रकै व्यक्तिहरुले बताएका छन् ।
पुस्तकका बारेमा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. चिरञ्जीवी नेपालले लेखक घर्ती आफै पनि बैंकको तल्लो तहदेखि कार्यकारी नेतृत्वसम्मका जिम्मेवारी सम्हालेको र अनुभव भएको व्यक्ति भएकाले उहाँका अनुभव, अनुसन्धान र सिकाइ बैंक तथा वित्तीय संस्थाको जुनसुकै भूमिकामा रहेका व्यक्तिका लागि उपयोगी र मार्गदर्शक हुने बताए ।
पूर्व बैङ्कर सशिन जोशीले बीएन घर्तीद्वारा लिखित बैंकिङ अनुशासन शीर्षकको पुस्तकलाई नेपाली बैंकिङ इतिहासको एक अमूल्य खजानाको संज्ञा दिए। विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरूका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरूका लागि पनि यो पुस्तक एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुने जोशीको ठम्याई छ ।
पुस्तक बढेपछि बैंकिङ क्षेत्रका कर्मचारीहरुमा केही न केही परिवर्तन आउने लेखक घर्तीको विश्वास छ ।व्यवस्थापन संकायका सबै विद्यार्थीहरुका लागि गतिलो पाठ्यसामग्रीको रुपमा समेत पुस्तक उपयोगी हुने प्राध्यापकहरुको भनाई छ । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकायका प्राध्यापक प्रा.डा विष्णु खनालले व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सरल तरिकाले कुरा बुझाउन सक्ने क्षमता लेखक र पुस्तकमा रहेको  बताए ।
बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्सका विषयमा अध्ययन, अनुसन्धान र प्रशिक्षणको काम गर्दै आएको बैंक विज्ञ घर्तीको आफ्नै संस्था बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रा.लि. (विआईएम)ले पुस्तक प्रकाशन गरेको हो । कुल ४४४ पृष्ठ रहेको पुस्तक बाक्लो देखिएपनि गुणस्तरीय कागजका कारण हलुका र आकर्षक छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय