जनताको खुशी न्याय र स्वतन्त्रतापछि मात्रै: उपप्रधानमन्त्री खड्का

बीपी स्मृति दिवस

काठमाडौं, ६ साउन । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले नेपाली जनतालाई विकास र समृद्धिसँगै न्याय र स्वतन्त्रता पनि दिन सके मात्रै समाजवादको लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

उनले जननायक स्व.बीपी कोइरालाको बिचार र मार्गदर्शनबाट सामाजिक न्याय र स्वतन्त्रताको कुरालाई मुर्तरुप दिदै नेपाली जनतालाई विश्वास दिलाउनुपर्नेमा समेत जोड दिए । बुधबार वीपी संग्रहालय सुन्दरीजलमा आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार-२०७९’ समर्पण समारोहमा बोल्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।

रक्षामन्त्री समेत रहेका खड्काले जनता र देशप्रतिको मायालाई बीपीले भने जस्तै न्याय दिनुपर्ने र त्यसपछि समाजवादमा पुग्न सकिने पनि बताए । उनले देशमा घटेका कयौं घटनाक्रमले बीपीको अभाव अझै खड्की रहेको पनि स्मरण गराए। ‘दरबार हत्याकाण्ड पछि पनि बीपी जिवित भैदिएको भए कस्तो बिचार दिनुहुन्थ्यो होला ?’ खड्काले भने-‘जब देसमा संकट आउँछ अनि बीपीको बिचार र आदर्शलाई सबैले सम्झिने अवस्था अहिले पनि छ। देशको माया हुनेलाई बीपीको बिचारबाट बिचलित हुने छुट छैन।’

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार ‘कु’ गरेपछि पनि बीपीले आफ्नो आदर्श र बिचार नछाडेको र मेलमिलापदेखि सामाजिक न्यायका लागि बीपीले गरेको निर्णय आजपनी मुख्य मार्गदर्शन बनिरहेको उनको भनाइ थियो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बीपीको बिचारलाई सबैले मान्नुपर्ने बताए । मन्त्री किरातीले बीपीको समाजवादमा पुग्नलाई सुखमय जीवन जिउनेले  नसक्ने भन्दै बीपीको जस्तै त्याग गर्नेले मात्रै समाजवादको कुरालाई  पूरा गर्न सक्ने बताए ।

वीपी कोइराला राष्ट्रिय पुरस्कार-२०७९ बाट राजनीतिक दर्शन बिधातर्फ पुर्व मन्त्री तथा राजनीतिज्ञ कुलबहादुर गुरुङ र पुर्व मन्त्री ढुण्डीराज शास्त्रीलाई सम्मानित गरियो। त्यसैगरी साहित्य बिधातर्फ देवीप्रसाद रेग्मी र गिरिराज आचार्य पनि सम्मानित भएका थिए ।

यसअघि यो पुरस्कारबाट राजनीतिक दर्शन तर्फ वीपी संग्रहालय र पुरुषोत्तम बस्नेत तथा साहित्य तर्फ डा.बिष्णुवीभु घिमिरे र डा.ध्रुवचन्द्र गौतम सम्मानित भएका थिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला श्रीपाइलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व.बीपी कोइरालाको राजनीतिक जीवन र साहित्यीक जिवनले सबैलाई प्रेरणा मिलेको बताइन् । उनले बीपीमा प्रगतिशील बिचारसंगै समाजवाद र मार्स्कवादको फ्युजन भएको पनि बताइन् । उनले महिला मुक्तिको कुरा बीपीले आफ्नो राजनीतिक जिवनमा नै शुरु गरेको भन्दै बीपीले सुन्दरीजलको जेलमा बस्दा पनि प्रजातान्त्रिक बिचार र आस्था नछाडेको बताइन् ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचीव सुरेश अधिकारीले स्वागत गर्दै नेपालको प्रजातान्त्रिक आन्दोलन,राजनीति र साहित्यमा स्व.वीपी कोइरालाको भुमिका महत्त्वपूर्ण रहेको बताए ।

सम्मानित ब्यक्तित्व कुलबहादुर गुरुङले तत्कालीन राजा महेन्द्रले बीपीलाई नर्कमा पुर्‍याउछु भनेको ठाउँ अहिले संग्रहालयको रुपमा बिकसित हुनु सुखद पक्ष भएको बताए ।२०१७ सालको घटना स्मरण गर्दै गुरुङले निर्वाचित प्रधानमन्त्री बीपीलाई पक्राउ गरेर राजा महेन्द्रले गलत निर्णय लिएको बताए।

वीपी संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले नेपाली राजनीतिमा बीपीको योगदानलाई कसैले भुल्न नसक्ने भन्दै संग्रहालयको स्थापनाले नयाँ पुस्तालाई धेरै ज्ञान दिनसक्ने बताए ।  उनले तत्कालीन अवस्थामा शाही नेपाली सेनाको सुन्दरीजल ब्यारेकले संग्रहालय स्थापना गर्न असहयोग गरेको तर अहिले सबैको सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गरे।

तस्बिरहरु:

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय