सुन तस्करीमा संलग्न कुनै ‘टार’, कुनै ‘कोट’को भएपनि छाड्दैनौं: गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ५ साउन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी काण्डमा मुछिएका जोसुकै भएपनि नछाडिने बताएका छन् । शुक्रबार त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अनुगमन गरेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
उनले विमानस्थल हुँदै बाहिरिएको सुन प्रकरणको जरासम्मै पुगेर अनुसन्धान गर्ने आश्वासन दिँदै भविष्यमा यस्ता घटना हुन नदिन योजना समेत बनाउने प्रतिबद्धता गरेका छन् । छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’
उनले आरोपी जुनसुकै पार्टीको निकट भएपनि उन्मुक्ति नपाउने बताउँदै शीर्ष नेताहरुको निवासलाई पनि इङ्गित गर्दै कसैलाई नछाड्ने बताए । ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,’ उनले भनेका छन् ।
बुधबार त्रिभुवन विमानस्थलबाट भन्सार पाससमेत भइसकेको अवस्थामा सिनामङ्गलबाट ठुलो परिमाणमा सुन बरामद भएको थियो ।

