एमर्जिङ एसिया कपमा नेपालको सान्त्वना जीत

काठमाडौं, ३ साउन । श्रीलंकामा जारी एसिसी इमर्जिङ एसिया कपमा नेपालले सान्त्वना जित हात पारेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा युएई ‘ए’ लाई हराउँदै नेपालले प्रतियोगिता जीतका साथ टुङ्ग्यायो ।

नेपालले युएईलाई विकेटले हराएको हो । युएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७१ रन बनाए । देव खनाल र सनदीप जोराले समान २४ रन बनाए ।

युएईका मोहम्मद फराजुद्दिनले ६ ओभरमा ३६ रन दिएर ५ विकेट लिए । त्यस्तै मुहम्मद जवादुल्लाहले २ विकेट लिए । पहिलो बलमै विकेट गुमाएको नेपालका लागि त्यसपछि देव खनाल र भुर्तेल मिलेर ९८ रनको साझेदारी गरेका थिए । तर त्यसपछि फेरि नेपालले निरन्तर विकेट गुमाउँदा खेल अन्त्यतिर नाटकीय मोडमा पनि पुगेको थियो । प्रतिश जिसीले दुई चौका प्रहार गर्दै नेपाललाई जिताए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा अलआउट हुँदै १५७ रन मात्र बनाएको थियो । उसका लभप्रीत सिंहले सर्वाधिक ५२ रन बनाएका थिए । त्यसैगरी इथान डिसुजाले १८, अस्वान्त भलथपाले १६ तथा आर्यन्श शर्माले १४ रन बनाए ।

नेपालका कुशल भुर्तेलले १० ओभरमा ४० रन दिएर ६ विकेट लिए । लिस्ट ए क्रिकेटमा उनले पहिलोपटक पाँच विकेट लिएका हुन् । त्यस्तै श्याम ढकालले २ विकेट लिँदा कुशल मल्ल र पवन सर्राफले १-१ विकेट लिए ।

प्रतियोगितामा नेपाल समूह बी मा भारत, पाकिस्तान र युएईको ए टोलीसँग रहेको थियो । पाकिस्तान र भारत दुवैसँग हार व्यहोरेको नेपाल एक खेलअगावै बाहिरिसकेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय