कांग्रेस नेता हरिबोल भण्डारी लेख्छन्- ‘हामी कठिन मोडमा उभिएका छौं’

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका युवा नेता एवं महासमिति सदस्य हरिबोल भन्डारीले पार्टी कठिन मोडमा उभिएको बताएका छन् । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक सुरु भएसँगै नेता भण्डारीले पार्टी सभापति, उपसभापतिहरु एवं महामन्त्रीद्वयलाई सम्बोधन गर्दै आफ्नो सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका हुन् ।

नेता भण्डारीले पार्टी केन्द्रिय समिति बैठक ‘लाइभ’ गर्ने कुरामा पनि असहमति व्यक्त गरेका छन् । ‘पछिल्लो समय पार्टीको आन्तरिक बैठक लाइभ गर्ने कुरा सुनिएको छ ! पार्टी भित्र थुप्रै बिमतिहरु हुन्छन् ! पार्टी नेतृत्वको आलोचना निर्मम भएर गर्न सकिन्छ, त्यो पार्टी कल्चर पनि हो ! तर यसो भन्दैमा सबै कुरा खुलाएर देखाउनु पर्छ भन्ने छैन’-उनले भनेका छन् ।

यसैगरी भण्डारीले मिसन-०८४ मात्रै भनेर नबस्न समेत खबरदारी गरेका छन् ।उनले लेखेका छन्- ‘म सुन्दैछु मिशन २०८४ ! के हामी मिशन २०८४ भनेर त्यो बेलासम्म हात पट्टाएर बस्ने हो त ? ! पक्कै होईन् ! प्रत्येक मिनेट हाम्रा लागि महत्वपूर्ण छन् !’

हेरौं कांग्रेस नेता हरिबोल भण्डारीको बिचार :

सभापति तथा महामन्त्री ज्यू ! नेपाली कांग्रेस पार्टीको आन्तरिक जीवनमा मलाई लाग्छ हामी यतिबेला कठिन मोडमा उभिएका छौं ! लामो तथा गर्विलो इतिहास बोकेको पार्टी यति बेला द्रुततर विकास र समय सापेक्ष निर्णय गरी सोही अनुसारको दिशा समात्न नसक्दा हामी कठिन मोडमा उभिएका हौं भन्ने मेरा ठम्याई छ ! यदि अहिलेकै अवस्थामा यही शैलीमा हामी चल्ने हो भने पक्कै पनि थप जटिल घुम्तिहरु नआउलान भन्न सकिन्न !

म सुन्दैछु मिशन २०८४ ! के हामी मिशन २०८४ भनेर त्यो बेलासम्म हात पट्टाएर बस्ने हो त ? ! पक्कै होईन् ! प्रत्येक मिनेट हाम्रालागि महत्वपूर्ण छन् ! २०८४ मा यदि कांग्रेसलाई बलियो र शक्तिशाली कांग्रेस बनाउने हो भने हामीले समयसापेक्ष निर्णय, सोही अनुसारको सुधार र आत्मालोचना गर्नु अत्यावश्यक छ !

पछिल्लो समय पार्टीको आन्तरिक बैठक लाइभ गर्ने कुरा सुनिएको छ ! पार्टी भित्र थुप्रै विमतिहरु हुन्छन् ! पार्टी नेतृत्वको आलोचना निर्मम भएर गर्न सकिन्छ, त्यो पार्टी कल्चर पनि हो ! तर यसो भन्दैमा सबै कुरा खुलाएर देखाउनु पर्छ भन्ने छैन् ! कांग्रेस क्याडर बेस्ड पार्टी होईन्, मास बेस्ड पार्टीका हरेक निर्णय र गतिविधि पारदर्शी हुन्छन्, त्यो भन्दैमा हामीले शरिरका रौंहरु समेत देखाउनु पर्छ भन्ने जरुरी हुन्न !

यस बारेमा पार्टी सभापति, महामन्त्री तथा सिंगो पार्टी नेतृत्वले गम्भिर भएर सोच्नेछ भन्ने पूर्ण आशा गरेको छु ! हाम्रा विमति र सहमतिबारे जमेर बहस, छलफल चलाऔं तर एउटा परिधिभित्र रहेर, त्यसो हुदा हामीले अनुशासनको पनि पालना गरेका हुनेछौं !

साथै पार्टीका उपसभापति आदरणीय पूर्णबहादुर खड्का ज्यू, धनराज गुरुङ ज्यु, मलाई लाग्छ हामी गठबन्धनकै सरकारमा छौं ! तर पछिल्ला गतिबिधी हेर्दा हामी माओवादीको सहयोगी मात्रै बनिरहेका छौं ! हामीले मिशन २०८४ भनिरहँदा सरकारमा अहिले पार्टीले खेलेको भूमिका पनि त्यतिनै महत्वपूर्ण हुन्छ ! यसर्थ सिंगो पार्टी नेतृत्व र उपसभापति ज्यूले यस तर्फपनि विशेष ध्यान दिनु हुनेछ भन्नेमा आशावादी छु !

विगत गर्विलो थियो र भविष्य सुन्दर बनाउन, सुन्दर ढंगले सोच्न र सहि दिशामा हिड्नु अहिलेको अपरिहार्य निर्णय हुनेछ ! नेपाली कांग्रेस को अधिवेशनमा झिनो मतले पछाडि परेको म यत्ति ध्यानाकर्षण गराउन चाहन्छु ! जय नेपाल !!!

हरिबोल भण्डारी
महाधिवेशन प्रतिनिधि
नेपाली कांग्रेस

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय