इमर्जिङ एसिया कप: नेपालमाथि भारतको सहज जीत

एक खेल अगावै नेपाल र युएई बाहिरिए

काठमाडौं, १ साउन । श्रीलंकामा जारी एसिसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको खेलमा भारत ‘ए’ टोलीले नेपालमाथि ९ विकेटको सहज जीत हात पारेको हो ।

नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२.१ ओभरमा केवल १ विकेट मात्र गुमाएर पूरा गर्यो । भारतका लागि अभिषेक शर्माले ८७ रन बनाए । शतकको नजिक पुगेका उनी नेपालका कप्तान रोहित पौडेलको बलमा लङअनमा क्याच आउट भएका थिए ।

त्यसैगरी अर्का युवा स्टार साइ सुदर्शनले अविजित ५८ रन बनाउँदा ध्रुव जुरेल २१ रनमा अविजित रहे । नेपालका लागि एकमात्र विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनी नियमित बलर भने होइनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७.२ ओभरमा १६७ रनमा अलआउट भएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ६५ तथा गुल्शन झाले ३८ रन बनाए । अन्यको प्रदर्शन राम्रो हुन सकेन । पावरप्लेमै ५ विकेट गुमापछि कुनै समय ३७-५ र ९०-६ को अवस्थामा रहेको नेपालका लागि रोहितले अन्यसँग मिलेर इनिङ्स उकासेका थिए ।

भारत ए का लागि निशान्त सिन्धुले ३.२ ओभरमा १४ रन मात्र दिएर ४ विकेट लिए भने राजवर्धन हङ्गरजेकरले ६ ओभरमा २५ रन दिएर ३ विकेट लिए । हर्षित रानाले २ तथा रियान परागले १ विकेट लिएका थिए ।

यस हारसँगै समूह बी बाट नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । युएई पनि बाहिरिँदा भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएका छन् । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय