इन्धनको मूल्य घट्यो, स्वचालित प्रणाली पनि लागु हुने

काठमाडौं, ३१ असार । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटाएको हो ।
पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मट्टितेलमा समान ४/४ रुपैयाँ मूल्य घटेको छ भने ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घटेको छ । योसँगै अब पेट्रोल काठमाडौं उपत्यकासहितका क्षेत्रमा लिटरको १६४ रुपैयाँ पर्नेछ भने तराईका जिल्लाहरुमा १६१ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १६३ रुपैयाँ पर्नेछ ।
त्यसैगरी डिजेल र मट्टितेल उपत्यकामा लिटरको १४६ रुपैयाँ, तराईका जिल्लाहरुमा १४३ रुपैयाँ ५० पैसा र भित्री मधेसमा १४५ रुपैयाँ पर्नेछ । एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १७९० रुपैयाँ कायम भएको छ ।
नेपाल आयल निगमले हवाइ इन्धनबाहेकका पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय पनि गरेको छ । यस प्रणाली लागू भएपछि खरिद मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्नेछ ।

