आज पनि धेरैजसो ठाउँमा वर्षा, केही ठाउँमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं, २९ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ ।
अहिले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा पनि भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ ।
त्यसैगरी राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ ।

