‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका कलाकार विरुद्ध मुद्दा दर्ता
आजदेखी बयान शुरु
काठमाडौं, २५ असार । अनलाइन मार्फत सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ प्रकरणमा पक्राउ परेका ११ जना विरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरु सबै कलाकार हुन् । उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो । यो प्रकरणमा पक्राउ पर्नेलाई जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गरेको छ।
कलाकार बल्छी ध्रुबे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी भनिने पवन खतिवडा लगायत युट्युबर र कलाकारहरुले नेपालमा गैरकानुनी एप्लिकेशन वान एक्स बेटको प्रचार गरेर रकम लिएको प्रहरीको भनाइ छ ।
उनीहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप छ। उक्त कार्य नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को उपदफा १ र २, मुलुकी अपराध संहिता २०७४ दफा १२५ को उपदफा (४) दफा ९३ को उपदफा (१) र दफा ४३ उपदफा (१) बमोजिमको कसुर भएको प्रमाणबाट पुष्टि भएको दाबी छ।
यो मुद्दामा मुख्य भुमिका खेल्ने दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा (१) बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ।
पक्राउ परेका अभियुक्तहरुको आजदेखि जिल्ला अदालत काठमाडौंमा बयान सुरु हुनेछ। बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि उनीहरुलाई मुद्दाको पुर्पक्षका क्रममा थुनामा राख्ने कि थुनाबाहिर भन्ने आदेश हुनेछ।

