बागमती सफाइमा जुटे अभियन्ता (तस्वीर सहित)
फोहोर गर्नेको निगरानी गरिने छ- मेयर रिसाल
काठमाडौं, २३ असार । बागमती नदी सरसफाइ अभियान अन्तर्गत शनिबार विशेष अभियान सम्पन्न भएको छ । बागमती सरसफाइको लागि काठमाडौको पुडासैनी मैत्री समाजले लामो समयदेखि अभियान चलाउँदै आएको छ ।
सोही अभियानमा ऐक्यबद्धता जनाउन शनिबार बागमती किनारमा पुर्वमन्त्रीदेखी हालका जनप्रतिनिधि र राजनीतिक तथा सामाजिक अभियन्ता जोडिएका थिए । कार्यक्रममा पुर्वमन्त्री रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, काठमाडौ-६ का वडा अध्यक्ष भुवन लामा, गोकर्णेश्वर-५ का वडा अध्यक्ष नारायणबहादुर सुवेदी सहित राजनीतिक दलका नेताकार्यकर्ता र सामाजिक अभियन्ता उपस्थित थिए ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले बागमती हाम्रो सभ्यतासँग जोडिएको विषय भएकोले यसलाई जोगाउने दायित्व समेत हाम्रो भएको बताए । उनले घरको सेफ्टी ट्याङ्कीलाई बागमतीमा मिसाएर अभियान चलाउनुको अर्थ नहुने भन्दै धार्मिक ब्यक्तिले घरको ढल बागमतीमा मिसाएर धर्मगर्न पशुपति जानु ढाेंग मात्रै भएको बताए । ‘बागमतीमा फोहोर फाल्नेले गङ्गा नुहाएर शुद्ध हुन्छु भन्नू ढोङी मात्रै हो’ उनले भने-‘सफा र हरियाली बागमतीको अभियानलाई सार्थक बनाउन सिसिक्यामेरा मार्फत फोहोर गर्नेको निगरानी र कारबाही गरिनेछ।’
पुर्व मन्त्री रामेश्वर फुयालले सफा पानी छोडौ तर दुर्घन्धित ढल नछोडौ भन्दै नदि जोगाउन सबै जुट्नुपर्नेमा जोड दिए।कामनपा-६ का वडा अध्यक्ष भुवन लामाले सामाजिक अभियानकर्तालाइ शुभकामना दिदै हिजो र आजको बागमतीमा धेरै फरक भएको बताए। उनले यो अभियानलाई निरन्तरता दिनुमा पुडासैनी मैत्री समाजको योगदानलाई बिर्सन नमिल्ने भन्दै हाम्रो बागमती हामिले नै सफा राख्नुपर्नेमा जोड दिए।
गोकर्णेश्वर-५का अध्यक्ष एवं नगर प्रबक्ता नारायण बहादुर सुवेदीले बागमती हाम्रो सभ्यता भएकोले यसलाई जोगाउनु हामी सबैको कर्तव्य भएको बताए। उनले बागमती जोगाउन आफू र आफ्नो वडा तथा नगरपालिकाले सक्नेजती सहयोग गर्ने प्रतिबद्धता समेत जनाए।
ईश्वर पुडासैनीले संचालन गरेको कार्यक्रममा अभियन्ता निरन्जन पुडासैनीले बागमती सफाइ अभियानलाई निरंतरता दिइरहने उद्घोष गरे।

















