ढोरपाटनका मेयर अझै फरार !
उनी संचालक रहेको इमेज सहकारीविरुद्ध १६ सय उजुरी
काठमाडौं, ९ असार । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार छन् । उनी संचालक रहेको इमेज सहकारीको झन्डै २ अर्ब रकम अपचलन गरेको उनिमाथी आरोप लागेको छ।
उनी संचालक रहेको इमेज बचत तथा ऋण सहकारीको कास्कीको पोखरा र बागलुङको बागलुङ बजार र बुर्तिवाङमा कार्यालय छ। सोही ठाउँका बचतकर्ताले आफ्नो वचत रकम हिनामिना गरेको भन्दै इमेज सहकारी संस्था र यसका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध बागलुङ र कास्कीका १६ सय जनाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
नेकपा एमालेका नेता समेत रहेका देवकुमारले बचतकर्ताको २ अर्ब रुपैयाँ रकम हिनामिना पारेर भागेको आरोप छ। देवकुमारसहित सञ्चालक समितिका सदस्य फरार भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते र कास्कीले जेठ ३२ गतेबाट बचत रकमसहित प्रमाण जुटाएर जाहेरी दिन आह्वान गरेको थियो।
हालसम्म बागलुङका ३ शाखामा बचत रकम पाउनुपर्ने भन्दै १ हजार ४ सय ६० जनाले जाहेरी दिएको र १ अर्ब १७ करोड १४ लाख रकम दाबी गरेको स्रोतको भनाइ छ।यसैगरी कास्कीमा २ सय ७६ जनाले जाहेरी दिएको र ४५ करोड ६० लाख ९६ हजार रुपैयाँ पाउनुपर्ने दाबी गरेको कास्की प्रहरीले जनाएको छ।
इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित फरार कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई गत वैशाख ७ गते गृहमन्त्रालयले यात्रा अनुमतिमासमेत रोक लगाएको थियो।
फरार भनिएकामध्ये त्यसमध्ये बागलुङ प्रहरी कार्यालयले सञ्चालक चित्रबहादुर भण्डारी र लेखा प्रबन्धक लालमती रोकालाई पक्राउ गरेको छ।

