चलचित्र ‘प्रसाद-२’लाई ल्वाङवासीको श्राप !
'क्षेताक्यू बराहले भलो हुन दिदैंन र नहोस्'
काठमाडौं, ७ असार । निक्कै लफडापछि रिलिज भएको ‘प्रसाद-२’ सिनेमा आफ्नो सार्वजनिक प्रदर्शनमा फल्प भइसकेपछि पनि अझै विवादमा परिरहेको छ ।
फिल्मको विवाद, निर्माताको विवाद झेल्दै हलसम्म पुगेर पनि खासै चमत्कार देखाउन नसकेको चलचित्र ‘प्रसाद-२’ ले फिल्म सुटिङ कै क्रममा खर्च भएको बक्यौता नतिरेको समेत खुलेको छ ।
चलचित्र सुटिङ हुँदाको खर्च अझै नपाएको र निर्माण पक्षले आफूहरुलाई पैसा नदिने नियत राखेको भन्दै एक जना स्थानीयले सामाजिक संजालमा स्टाटस लेख्दै निर्माणपक्षलाई श्राप समेत दिएका छन्।
चलचित्र ‘प्रसाद-२’ छायांकन स्थल कास्कीको ल्वाङका स्थानीयबासी तिर्थ गुरुङले आफ्नो फेसबुक पेजबाट भुक्तानी नपाएको गुनासो गर्दै स्थानीय देवताको नाममा कहिले भलो नहुने भन्दै श्राप दिएको देखिएको छ।
‘प्रसाद-२ फिल्म परिवारले ल्वाङ,कोलेली,साखु गाउँलेबासीलाई रुवाएर बसेछ! पक्कै पनि क्षेताक्यु बराहले यिनीहरुको भलो त कहिले हुन दिदैंन र नहोस् पनि क्षेताक्यु बराह वरिपरि सुटिङ गरेको ताजै छ! अब न्यायको लागि लड्न पर्नी दिन आउदै छ!’, फेसबुकमा उनले लेखेका छन्।
तिर्थले स्टाटससँगै कमेन्टमा पनि ‘प्रसाद-२’को युनिटलाई गाँउले सकेको सहयोग गरेको तर भुक्तानी नपाउँदा आफूहरुमाथि विश्वासघात भएको दुखेसो गरेका छन्।
‘हामी आफ्नो काम छोडेर यिनको फिल्म सफल होस् भनेर लागे, भएको भाँडाकुँडा पनि सबै दिए ,अहिले तिर्नु पर्नी न्यूनतम रकमको १ पैसा नतिरी कुनामा बसेर मरेछ जिन्दगी भरी यसरी नै बसोस् !! एउटाले अर्कोलाइ चोर भनेछ , अर्कोले अरुलाई चोर भनेछ, अर्कोले अरुलाई ,, आफु चोर भए पछि दुनियाँ चोर देख्ने !! (२ नम्बरी) टिमले राम्रो व्यबहार गरेको भएर विश्वास गरेर फिल्म गर्न दियो अहिले यस्तो हालतमा छोडेर मर्यो’, उनले कमेन्टमा लेखेका छन्।
स्टाटसमा उनले ‘प्रसाद-२’ सिनेमाका प्रोडक्सन म्यानेजर मनोज केसी र निर्देशक सुदर्शन थापालाई समेत ट्याग गरेका छन्।उनले ट्याग गरेको फेसबुक स्टाटसमा ट्याग भएका दुई कलाकार कमलमणी नेपाल(खुपीका बा) तथा विशाल पहारीले आफूहरुले पनि ‘प्रसाद-२’बाट पारिश्रमिक नपाएको भन्दै कमेन्ट गरेका छन्।‘तपाईं सङै हाम्रो पनि ,पसिना बगेको छ’, पहारीले कमेन्ट गरेका छन्।
यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, महेश त्रिपाठी, विशाल पहारी, प्रकाश घिमिरे, कमलमणी नेपाल लगायतका कलाकारले खेलेका छन् ।

