साफ च्याम्पियनसिप: कुवेतसँग नेपालको हार

काठमाडौं, ६ असार । भारतमा आजदेखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको हो ।

कुवेतको जीतमा खालेद हाजिया, शबाइब अल खाल्दी र मोहममद अब्दुल्लाहले १-१ गोल गरे । नेपालका लागि अन्जन विष्टले गरेको गोल सान्त्वना बन्यो । पहिलो हाफमा २ र दोस्रो हाफमा २ गोल भएका थिए ।

खेलको २३औं मिनेटमा हेडरमार्फत हाजियाले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा काउन्टर मुभमार्फत डिबक्सभित्र पाएको बललाई शबाइबले जाली चुमाउँदै कुवेतको अग्रता दोब्बर पारेपछि पहिलो हाफमा कुवेतले २-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको ६५औं मिनेटमा अनन्त तामाङले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा कुवेतका अब्दुल्लाहले गोल गरेपछि कुवेत ३-० ले अघि बढ्यो । त्यसको ३ मिनेटपछि वान भर्सेस् वानमा अन्जनले गोल गर्दै नेपाललाई सान्त्वना गोल दिलाए ।

त्यसपछि कुनै गोल  हुन सकेन र नेपाल ३-१ ले स्तब्ध बन्यो । जीतसँगै कुवेतले ३ अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेल शनिबार भारतसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय