पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान आज
सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बिहान ९ बजे अवतरण गर्दै
पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज आज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीका अनुसार उडानका सबै तयारी पूरा भइसकेको छ।’उडानबाट आउने यात्रुहरुको स्वागतका लागि संक्षिप्त कार्यक्रम पनि राखिएको छ’-उनले भने-‘यसले दुई देश बिचको हवाइ सम्पर्कलाई नियमित गर्ने र पर्यटन प्रबर्द्धनमा समेत सहयोग पुग्नेछ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ। पोखरा फेवातालमा हुने डुंगा दौड (बोट रेस)प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा बिमानस्थल अवतरण गर्नेछ । भोलिदेखी फेवातालमा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल आयोजना हुँदैछ ।
विमानस्थल अहिले ऋणैऋणको बोझमा छ। यो विमानस्थल बनाउँदा लागेको चीनको झन्डै २२ अर्ब रुपैयाँ ऋण २०७९ चैत १ देखि २०९२ असोज १ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ।
प्राधिकरणले पहिलो किस्ता गत चैतमा नै तिरिसकेको छ। पोखरा विमानस्थल सुरु भएको पहिलो पाँच महिनामा कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडान मात्रै भइरहेका छन् ।
पोखराबाट विभिन्न देशमा सीधा उडान भर्न थाई स्माइल, जजिरा, साउर्थन चाइनालगायतले चासो देखाएर अध्ययन गरिरहेको बताए पनि उडान भने सुरु भएको छैन ।
चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भएको यस विमानस्थल बैंकको ऋणमध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्याजको ऋण ब्यहोर्ने सर्तमा निर्माण भएको हो ।
झण्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको छ ।
यस विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्बाइ २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटर रहेको छ ।
विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

