अमेरिकाविरुद्ध जीतको खोजीमा नेपाल, सोमपालले आजको खेल गुमाउने

तस्विर: क्यान

काठमाडौं, ५ असार । जिम्बावेमा आइतबारदेखि सुरु भएको आइसिसी क्रिकेट विश्वकप छनौटअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । अमेरिकाका कप्तान मोनान्क पटेल छन् भने नेपालको कप्तानी युवा खेलाडी रोहितकुमार पौडेलले गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेलमा जिम्बावेसँग ८ विकेटको नमीठो हार व्यहोरेको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । सुपर सिक्सको सम्भावना बनाइराख्‍न दुवै टोली आज जीतको खोजीमा हुने छन् ।

आजको खेलमा नेपालका प्रमुख बलर सोमपाल कामी खेल्ने छैनन् । आइतबार जिम्बावेविरुद्ध चोट बोक्दै उनी बीचैमा मैदानबाट निस्किएका थिए । उनी अझै फिट नभइसकेको जनाइएको छ । उनको स्थानमा किशोर महतो खेल्ने सम्भावना छ ।

अमेरिकाका पूर्वकप्तान सौरभ नेत्राभल्कर र स्टेभन टेलरले राम्रो बलिङ गरिरहेका छन् । त्यस्तै ब्याटिङमा गजानन्द सिंहले वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका थिए । नेपालले ब्याटिङमा फिनिसिङमा सुधार गर्नुपर्ने हुन्छ भने बलिङमा पनि धेरै सुधार गर्नुपर्ने हुन्छ ।

आजको खेल जितेमा नेपाल २ अंक जोड्दै सुपर सिक्सको सम्भावना कायमै राख्‍ने छ । दुई समूहबाट शीर्ष ३ टोली सुपर सिक्समा पुग्‍ने प्रावधान छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय