पूर्वका जिल्लामा अझै तीन दिन बाढीको उच्च जोखिम

काठमाडौं, ४ असार । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पूर्वमा अझै तीन दिन बाढीको उच्च जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार तीन दिनसम्म तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने छ ।

नदीहरुमा बहाव बढ्ने भएका कारण ताप्लेजुङ र पाँचथरमा बाढीको उच्च जोखिम छ । त्यसले क्षति पुर्‍याउन सक्ने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आज दिउँसो बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशभरका नदीहरुको अवस्थाबारे उल्लेख छ । आज, भोलि र पर्सि तमोर, अरुण र कन्काइ नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

यसैगरी ताप्लेजुङ र पाँचथर भएर बग्ने नदी तथा खोलाहरुमा भने उच्च जोखिमको सम्भावना छ । ती जिल्लाका नदी तथा खोलाहरुमा सतर्कता तह पार गर्ने सम्भावना छ ।

संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ र गोरखा भई बग्ने नदी तथा खोलाहरुमा जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय