पोखरा विमानस्थलमा असार ६ गते पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा, ३ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा असार ६ गते पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार) मा चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी अनुमति पाएसंगै यो उडान हुन लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको पोखरामा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।पोखरामा हुने डुंगा दौड (बोट रेस)प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ ।
पोखराको फेवातालमा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल आयोजना हुँदैछ। चिनियाँ टोलीले उडानका लागि जानकारी गराएको समेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडानको विषय टुंगो लागी सकेको जानकारी दिए । विमानस्थल अहिले ऋणैऋणको बोझमा छ। यो विमानस्थल बनाउँदा लागेको चीनको झन्डै २२ अर्ब रुपैयाँ ऋण २०७९ चैत १ देखि २०९२ असोज १ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ।
प्राधिकरणले पहिलो किस्ता गत चैतमा नै तिरिसकेको छ। पोखरा विमानस्थल सुरु भएको पहिलो पाँच महिनामा कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। आन्तरिक उडान मात्रै भइरहेका छन्।
पोखराबाट विभिन्न देशमा सीधा उडान भर्न थाई स्माइल, जजिरा, साउर्थन चाइनालगायतले चासो देखाएर अध्ययन गरिरहेको बताए पनि उडान भने सुरु भएको छैन । चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भएको यस विमानस्थल बैंकको ऋणमध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्याजको ऋण ब्यहोर्ने सर्तमा निर्माण भएको हो ।
झण्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भएको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण गरिएको छ । यस विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्बाइ २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटर रहेको छ ।
विमानस्थलका लागि सरकारले २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

