‘निरफुल’मा लुकेको रुबिभ्याली र चुकेका निर्देशक

काठमाडौं, २ असार । धादिङको रुबीभ्याली उपत्यकाको सुन्दर दृश्यलाई चलचित्रको पर्दामा उतारेका निर्देशक फूलमान वलले चलचित्रको नाम जस्तो काम गर्न चाहिँ चुकेका छन् ।

अहिलेको अवस्थामा लगानीकर्ताको पैसा नडुब्ने चलचित्र भनेकै दयाहाङ राईको हो । उनै दयाहाङलाई लिएर रुवीभ्यालीको शुन्दर दृश्य खिचिएको चलचित्र ‘निरफूल’ मा दयाहाङ राईलाई नाम दिइएको छ-‘चेन्जोरोङ’। श्रीमती शान्ति वाईवा र छोरी जिग्मे छ्योइकी (पिन्जावती)सँग गोठालो जीवन बिताइरहेको चेन्जोरोङले जब गोठालो जिवनलाई अन्त्य गर्दै छोरी पढाउने र त्रीशुली वा स्याफ्रुवेशीमा घर बनाउने सपना देख्छ। त्यसमा श्रीमतीको जोड हुन्छ श्रीमानलाई केही वर्ष विदेश पठाउने । योजना अनुसार उनीहरु गोठालो जीवनबाट श्रीमती स्याफ्रुवेशीमा छोरीलाई पढाउने र श्रीमान मलेशिया जाने ।

यहाँ सम्म ठिकठाक अगाडी बढीरहेको जीवन अब चाहिँ समस्यामा फस्छ । २०७२ बैशाख १२ को भुकम्पलाई चलचित्रमा इन्ट्री गराइन्छ र परीवारका ३ सदस्यलाई ३ तिर पुर्‍याइन्छ । निर्देशकले यहाँ सम्म ठिकै गरेका छन् । भुकम्पले घर भत्केपछि छोरीलाई सरकारले उपचारका लागि हेलिकप्टरमा काठमाडौं लैजाने, आमा बेहोस भएर गाउँमा छट्पटिने र मलेशिया पुगेको बुबा फर्किन नसक्ने अवस्थाबाट ‘नीरफूल’को कथा अघि बढ्छ ।

चलचित्र पत्रकारिता गरेका फूलमान वलले यस्ता धेरै चलचित्रको कमजोर पक्ष र सबल पक्ष केलाउने प्रयास गरे । उनले आफ्नो कलमले अरुका चलचित्रको समिक्षा गर्दा र अहिले उनको निर्देशकीय क्षमताको कुरा गर्दा उनी दयाहाङको सहाराले मात्रै ‘निरफूल’ लाई बचाउन सकेको देखिन्छ । यदी चलचित्रमा नयाँ पात्र लिएर आउँथे भने फूलमान्को निर्देशकीय क्षमता माथी  ठुलै प्रश्न उठ्थ्यो । धन्न दयाहाङको ‘स्टारडम’ ले निर्देशक फुलमानको समेत इज्जत ढाकेको छ । तर, फूलमानको ‘डेब्यू’ निर्देशनलाई झुर र वाहियात भन्ने अवस्था चाहिँ होइन । उनले आफ्नो सीप र ज्ञानको प्रयोग गरेकै छन् । केही खास ठाउँमा बाहेक निर्देशकले मेहनत गरेको कुरामा शंका गर्नुपर्दैन । तर,यत्ती चाहिँ भनौ कि चलचित्रमा उनी क्याप्टेन बन्न चाहिँ सकेका छैनन् । उनी निर्देशक भएर पनि चलचित्रलाई अर्कैले डोहोर्‍याउने अवस्था छ ।

चलचित्रमा निर्देशकले नेपालको सरकार, गैरसरकारी संस्था,नेपालको प्रशासन,राजनीति गर्ने नेता, प्रहरी र उनी स्वयंको पेशा पत्रकारीता समेतलाई नकारात्मक रुपमा देखाएका छन् । समस्या होला तर, सबैमा समस्या छैन भन्न समेत उनले सकेनन् । उनले आफ्नो कमजोरी लुकाउन रेखा थापा जस्तो हिम्मतवाली नायीकालाई अतिथि भुमिका दिएका छन् । त्यो पनि कम्जोर गीत संगीत र छायांकनले फितलो भएको छ ।

दयाहाङले उठाएको भारीमा रेखाको अलिकति सहयोग खोजेका निर्देशकले बुद्धि तामाङ जस्तो अब्बल कलाकारबाट केही पनि लिन सकेको देखिदैन। बुद्धिको समेत उपयोग गरेर आफ्नो निर्देशनलाई जोगाउने प्रयत्न गरेका निर्देशक फूलमानले कुनैपनी पात्रलाई न्याय दिन सकेको देखिन्न । तर,पात्रले भने निर्माता र निर्देशकको पैसा र प्रतिष्ठा जोगाउन खुलेरै अभिनय गरेका छन् ।

रुवीभ्याली जस्तो भर्जिन लोकेशन र भुकम्प जस्तो शक्तिशाली कथा अनि दयाहाङ, बुद्धि तामाङ जस्ता चर्चित कलाकार पाएर पनि निर्देशकले यसरी शुन्दर ‘निरफूल’ फुलाउन नसक्नु दु:खद हो । यति राम्रो कथा र छायांकनस्थल पाएर पनि निर्देशक वलले निर्देशकका रुपमा आफ्नो क्षमता देखाउन चुकेका छन्। आगामी दिनमा चलचित्र निर्देशन गर्ने हो भने वलले निर्देशनमा मेहेनत गर्नुपर्ने देखिएको छ ।

प्रचार गर्दा रुबिभ्यालीको कुरा गरेको र सिनेमालाई अर्गानिक कथा भनेर जताततै वर्णन गरिएपनि त्यसको अन्तरआत्मालाई निर्देशकले धोका दिएका छन् । अझै रुबी भ्यालीको नाम माथि समेत निर्देशकले न्याय गरेका छैनन् । धादिङको रुबि भ्यालीको मानिस कि धादिङवेशी झर्ने सपना देख्छ कि काठमाडौ । तर, उनले नुवाकोटको त्रिशुली बजार र रसुवाको स्याफ्रुवेशीको सपना देखाएका छन् । जुन रुबि भ्यालीको मानिसको सपनाको शहर नै होईन ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय