नक्कली शरणार्थी प्रकरण: रायमाझी र खाँण सहित १६ जना जेल चलान

काठमाडौं, १ असार । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पुर्व गृहमन्त्री बालकृष्ण खाण सहित १६ जना अभियुक्तहरु जेल चलान भएका छन्।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिलको जवाफी बहसपछि आएको आदेशमा उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गर्न भनिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंक गुरुङलाई भने छाडेको छ। होटल व्यवसायी टंक गुरुङ १० लाख र ललितपुरकी लक्ष्मी महर्जन ५ लाख धरौटीमा रिहा भएका हुन्।
यो प्रकरणमा रायमाझी र खाण सहित १८ जना पक्राउ परेका र १२ जना फरार छन् । उनीहरुमाथी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गिरोह र उनीहरुसंग रकम लेनदेनको साझेदार बनेको आरोप छ।

