काठमाडौंमा रोकियो ‘आदिपुरुष’को विहानी शो

काठमाडौं, १ असार । आज शुक्रबारदेखि रिलिज भएको भारतीय चलचित्र ‘आदिपुरुष’को विहानी शो काठमाडौंमा रोकिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चेतावनीपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् ।
क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेको र दिउँसोको शो बारे छलफल गर्ने भएका हुन् । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को विहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिति हेरेर चलाउन निर्देशन दिएको छ ।
चलचित्रमा सीताको जन्म भारतमा भएको भनेर संवाद राखिएको छ। जनकपुरमा जन्मिएको सीतालाइ भारतमा जन्मिएको भनेर भारतले चलचित्र मार्फत पनि हेपेको भन्दै बालेनले उक्त संवाद हटाउन भनेका छन् ।
नेपालको सेन्सर बोर्डले भने उक्त संवाद हटाएर सेन्सर पास गरेको थियो । तर, बालेनले भारतमै उक्त संवाद हटाउनुपर्ने भनेका छन् । बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर पनि भारतको अशोक सम्राटको नक्साको जवाफ दिएका थिए ।

