फिल्म समिक्षक कमाल भन्छन्- ‘मलाई अक्षय कुमारले मार्न खोजे’

मुम्बई, ३१ जेठ । आफुलाई फिल्म समिक्षक बताउने भारतका फिल्मी पत्रकार कमाल आर खान फेरि विवादित बनेका छन् । आफ्नै बोलीका कारण बेला-बेला चर्चामा आउने उनी यही कारण बलिउडमा परिचित पनि छन् । उनी प्रायः बलिउड सेलिब्रेटीहरुलाई निशाना बनाउँछन् र कहिलेकाँही सेलिब्रेटीका बारेमा खराब कुरा पनि बोल्छन् ।
उनै कमल अहिले अभिनेता अक्षय कुमारका कारण पुनः चर्चामा आएका छन् । उनले आफू जेलमा रहँदा अक्षयले मार्नका लागि सुपारी दिएको आरोप लगाएका छन् । उनले अक्षयकै कारण आफू जेलमा पुगेको दाबी समेत गरेका छन् ।’यो कुरामा अक्षय दोषी छन् । तर,सलमान खान र शाहरुख खानको कुनै सरोकार छैन।’
कमल आर.खान अक्षयलाई ‘क्यानेडियन कुमार’ भनेर बोलाउँछन् । उनले ट्वीटरमा लेख्दै अक्षयका पछिल्ला १० फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेको उल्लेख गरेका छन् । ‘बलिउडमा अक्षय कुमारबाहेक सबैसँग मेरो राम्रो सम्बन्ध छ । मलाई जेलमा मार्न सुपारी दिने र पक्राउ गर्ने ऊ नै हो’, उनले ट्वीट गरेका छन् । यद्यपि कमलले अहिले उक्त ट्वीट हटाइसकेका छन् ।
अक्षयले कमलको ट्वीटमा कुनै प्रतिक्रिया दिएका छैनन् । अक्षय आफ्नो फिल्म ‘ओएमजी २’ को प्रमोसनमा व्यस्त छन् । यो फिल्म आगामी अगष्ट ११ मा रिलिज हुँदैछ । यही दिन सनी देवलको फिल्म ‘गदर २’ पनि रिलिज हुँदैछ । यही मितिमा रणवीर कपूरको फिल्म ‘एनिमल’ पनि आउने चर्चा छ ।

