वार्म-अप खेलमा नेपाल युएईसँग पराजित

काठमाडौं, ३० जेठ । जिम्बावेमा हुन लागेको आइसीसी क्रिकेट विश्वकप छनोटअघि भएको वार्म अप खेलमा नेपाल पराजित भएको छ । युएईले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको २७८ रनको लक्ष्य युएईले एक बल अगावै ७ विकेट गुमाएर भेट्टायो । युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ७८ रन बनाउँदा आर्यन्श शर्मा र रमिज शाहजादले समान ४० रन बनाए ।
पहिला ब्याटिङ गरेको नेपालले एक बल बाँकी छँदा सबै विकेट गुमाएर २७७ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले ५७ तथा कुशल मल्लले ४६ तथा कुशल भुर्तेलले ३९ रन बनाएका थिए ।
नेपालले छनोटअघि दोस्रो अभ्यास खेल बिहीबार ओमानसँग खेल्नेछ ।

