युक्रेनमा बाँध भत्किँदा हजारौं विस्थापित, रुसले भत्काएको आरोप

एजेन्सी, २४ जेठ । युक्रेनको खेरसान प्रान्तस्थित काखोभ्का बाँध भत्किँदा हजारौं मानिस विस्थापित भएका छन् । यसबाट ८० सहरका मानिस प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ ।
निप्रो नदीमा बनाइएको बाँध सोमबार बिहान भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ ।
८० हजार मानिसलाई त सुरक्षित स्थानमा सारिएको छ । यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले भने रुसले जानीजानी बम आक्रमण गरेर बाँध भत्काइदिएको भन्दै रुसलाई आरोप लगाएका छन् ।

