
सिकारीले हानेको गोली लागेर किशोरीको मृत्यु
राससकालीकोट, २२ जेठ । कालीकोटमा सिकारीले हानेको गोली लागेर किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।


जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीले हानेको गोली लागेर सहकारी घाइते भएकी थिइन् । घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उनको उपचारकै क्रममा आइतबार सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको आइतबार नै पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ । मृतक सहकारी कक्षा–१० मा अध्ययनरत छात्रा हुन् ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments

