‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल खेलाडी उत्पादनको तयारी

पोखरा, २१ जेठ । ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल खेलाडी उत्पादन गर्ने तयारी सुरू गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले आ.व २०७९/०८० का लागि ‘खेल्छ गण्डकी’ मार्फत छुट्टिएको रकमलाई गण्डकी प्रदेशमा महिला भलिबल खेलाडी उत्पादन गर्ने कार्यक्रमलाई अघि सारेको हो ।

सो कार्यक्रम मार्फत पहिलो चरणमा हालै एसइई दिएर बसेका गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ट्यालेन्टहन्ट मार्फत ४० जना खेलाडी छनौट गरिने सो कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । ति ४० जना मध्येबाट १० दिनको बन्द प्रशिक्षणमार्फत अन्तिम १४ जना खेलाडीको छनौट गरी प्रारम्भिक चरणमा २ वर्षका लागि अध्ययनसहितको सुविधामा पोखरामा भलिबल प्रशिक्षण प्रदान गरिने भएको छ ।

उक्त कार्यक्रमलाई मुर्तरुप दिन गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले आइतबार विभिन्न संघ/संस्था तथा सरोकारवालाहरु संग छलफल समेत गरेको छ । सो भेलाले सदस्य सचिव श्रीधर शर्माको संयोजकत्वमा एक परियोजना सञ्चालन समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा खगेन्द्र क्षेत्री रहेका छन् भने सदस्यमा परिषदका सदस्य द्वय केशव पाठक, शुभकन्या गुरुङ रहेका छन् ।

कार्यक्रमलाई थप व्यवस्थित गर्न संस्थागत रुपमा  पोखरा उद्योग वाणिज्य संघ, गण्डकी प्रदेश भलिबल संघ, हिसान, प्याब्सन, एन प्याब्सन, युनिप्स कास्की, नेपाल भूतपूर्व खेलाडी मञ्च, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की, गण्डकी विश्वविद्यालय र टाइगर ग्रुप अफ पोखरा नेपाल सदस्यको रुपमा रहेका छन् ।

त्यसै गरी सो परियोजनाको अनुगमनका लागि परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको छ । जसको सदस्यमा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं निवर्तमान सदस्य सचिव तेज बहादुर गुरुङ, परिषदका कार्यकारी सदस्यहरु दिल बहादुर गुरुङ, ऋषी गौतम र तारामायाँ थापा मगर, कार्यालय प्रमुख तोपलाल भुसाल र लेखा प्रमुख निलकण्ठ ढकाल रहेका छन् ।

गठित समितिले खेल्छ गण्डकी कार्यक्रमको कार्ययोजना तयार गर्ने, बजेट खर्चको व्यवस्थापन, प्रायोजकहरुको खोजी र बालिकाहरु अध्ययन गर्ने विद्यालयको व्यवस्थापन गर्ने गरी तय गरिएको जनाएको छ । कार्यक्रम अनुसार यहि जेठ २९ गते जिल्लाबाट छनौट भएका खेलाडीहरु पोखरा आउने छन् भने ३० गतेबाट पोखरामा प्रशिक्षणको सुरुवात गरिने कार्यक्रम रहेको परिषदले जनाएको छ । असार ७ गते सो प्रशिक्षण समापन गरी अन्तिम १४ जना खेलाडीहरुको नाम घोषणा गरीने कार्यक्रम समेत तय भएको सदस्य सचिव शर्माले जनाएका छन् ।

खेल्छ गण्डकी कार्यक्रमलाई गण्डकी प्रदेश सरकारले पुनः निरन्तरता समेत दिएको छ । आइतबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको बताए । यो कार्यक्रम मार्फत गण्डकी प्रदेशमा खेलाडी उत्पादन, छनौट र प्रशिक्षण सम्वन्धि योजनालाई अघि बढाउने योजना लाई अघि सारिएको उल्लेख समेत गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय