
आउँदो शनिबारदेखि धेरै स्थानमा वर्षाको सम्भावना
प्रतिक भट्टकाठमाडौं, २१ जेठ । केही दिनयता देशका धेरै स्थानमा वर्षा हुन सकेको छैन । फाट्टफट्ट स्थानमा हल्का वर्षा भएपनि अन्य ठाउँमा वर्षा हुन नसक्दा अधिकतम तापक्रम बढ्दो क्रममा छ ।


तापक्रम बढेसँगै विशेषगरी तराईका जिल्लाहरुमा ह्वात्तै गर्मी बढेको छ । गर्मीले गर्दा जनजीवन प्रभावित बन्दै गएको छ । अधिकांश स्थानमा बालबालिकाहरुको स्वास्थ्यलाई लक्षित गरी विद्यालयहरु केही दिनका लागि बिदा पनि दिइएको छ ।

मौसमविदका अनुसार यस साता फाट्टफुट्टबाहेक वर्षाको खासै सम्भावना देखिँदैन । आगामी शनिबारदेखि भने वर्षाको क्रम सुरु हुने एक मौसमविदको अनुमान छ । उनका अनुसार मनसुनी वायू अबको ७ देखि १० दिनभित्रमा नेपालमा सक्रिय हुने छ ।
‘अबका केही दिन गर्मी हुनु स्वभाविक हो, मनसुन भित्रिनुअगाडि उखरमाउलो गर्मी हुन्छ’, उनले भने, ‘मनसुनी वर्षा गराउने प्रणाली हाल भारतको केरलामा रहेको छ, अबको ७ दिनभित्रमा यो पूर्वी नेपालमा आइपुग्छ । त्यसको २-३ दिनमा नेपालको अधिकांश भूभाग बादलले ढाक्ने छ’ ।
उनका अनुसार जेठ मसान्तभन्दा अगाडि नै नेपालमा भारी वर्षा र झरीको क्रम सुरु हुने छ । अहिलेको अनुमानअनुसार आगामी शनिबारदेखि वर्षाको क्रम सुरु हुने र विस्तारै बढ्दै जाने छ ।
यसपालीको मनसुनमा पूर्वी र मध्य नेपालमा औसतभन्दा केही बढी र पश्चिममा औसत वर्षा हुने अनुमान उनले गरेका छन् ।
Comments

