कलंकीदेखि जडीबुटीसम्म लामोदूरीका गाडी रोक्न नपाईने

काठमाडौं, १९ जेठ । काठमाडौं महानगरपालिकाले संघीय राजधानीबाट छुट्ने र भित्रिने लामो दूरीका कुनैपनि सवारी साधनलाई कलंकीदेखि जडीबुटीसम्मको क्षेत्रमा रोक्न नपाईने नियम ल्याएको छ।

आगामी असार १ गतेबाट उपत्यकाबाहिर चल्ने सम्पूणर् सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र छुट्ने र भित्रिने गरी सञ्चालन गरिने भएको हो। यो व्यवस्थासँगै अब लामो दूरीका बसबाट यात्रा गर्ने यात्रुले गाडी चढ्न बसपार्कमै पुग्नुपर्ने छ।

महानगरपालिकाले शुक्रबार सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने भनेको छ। जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै महानगरले व्यवसायीलाई सवारीसाधान नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह समेत गरेको छ।

काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्कबाहिर रहेका सबै टिकट काउन्टर हटाउन समेत भनेको छ। अब कसैले पनि बिच बाटोमा काउण्टर खडागरी यात्रुलाई टिकट काट्ने, बस चढाउने र आराल्ने गर्न पाईने छैन।

महानगरपालिकाद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ-,‘बैठकले निणर्य गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन।’

यसैगरी धुलिखेल, बनेपा, साँखु लगायत क्षेत्रमा चल्ने गरी सडक इजाजत पत्र लिएका सवारीसाधनलाई पनि कलङ्कीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको महानगरले जनाएको छ। सूचनाको पालना नगरे असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीले नियमानुसार कानुनी कारबाही गर्नेसमेत सूचनामा उल्लेख छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय