वर्षाले प्रभावित आइपिएलको फाइनल आज ‘रिजर्भ डे’मा हुँदै

काठमाडौं, १५ जेठ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनल खेल आज हुँदै छ । आइतबार नै हुनुपर्ने फाइनल खेल वर्षाले सुरु नै हुन नसकेपछि आज ‘रिजर्भ डे’ मा हुन लागेको हो ।
उपाधिका लागि साविक विजेता गुजरात टाइटन्स र चारपटकको विजेता चेन्नई सुपर किङ्स आमनेसामने हुँदै छन् । चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
पराजित भएपनि अर्को मौकाको सदुपयोग गर्दै गुजरातले दोस्रो क्वालिफायरमा पाँच पटकको च्याम्पियन टोली मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
यस सिजनको सुरुवातमै पनि यी दुई टोली आमनेसामने भएका थिए जसमा गुजरातले बाजी मारेको थियो । पहिलो क्वालिफायरमा भने चेन्नईले जित निकाल्न सफल भयो ।
दुवै टोली यस सिजनमा उत्कृष्ट टोलीका रुपमा देखिएका छन् । चेन्नईले महेन्द्रसिंह धोनीकै कप्तानीमा १० पटक फाइनलको यात्रा तय गर्दा चारपटक उपाधि जितेको छ र उपाधि संख्या पाँच पुर्याउन चाहन्छ ।
आइपिएलको नयाँ टोलीका रुपमा रहेको गुजरातले सहभागिताको दुई वर्षमै उपाधिको रक्षा गर्दै लगातार दोस्रो उपाधि जित्न चाहन्छ ।
यदि आज पनि वर्षाका कारण खेल हुन नसकेमा दुवै टोली संयुक्त विजेताका रुपमा ट्रफी बाँड्ने छन् ।

