मुम्बईलाई हराउँदै गुजरात आइपिएलको फाइनलमा
गिलको शतक र मोहितको पाँच विकेट
काठमाडौं, १३ जेठ । पाँच पटकको च्याम्पियन टोली मुम्बई इन्डियन्सलाई हराउँदै साविक विजेता गुजरात टाइटन्स भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा मुम्बईलाई ६२ रनले हराउँदै गुजरात अगाडि बढेको हो । गुजरातले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १७१ रनमा समेटियो ।
मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाउँदा तिलक वर्माले ४३ र क्यामरन ग्रीनले ३० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुजरातका मोहित शर्माले २.२ ओभरमा १० रन मात्र दिएर ५ विकेट लिए भने मोहम्मद शामी र राशिद खानले २-२ विकेट लिँदा जोसुवा लिटिलले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३३ रनको विशाल योगफल खडा गरेको थियो । ओपनर शुभमन गिलले १२९ रनको शानदार शतकीय पारी खेले ।

६० बलको सामना गरेका गिलले ७ चौका र १० छक्का प्रहार गरेका थिए । त्यस्तै साइ सुदर्शनले ४३ रन बनाए भने कप्तान हार्दिक पान्ड्या २८ रनमा अविजित रहे । मुम्बईका आकाश मधवाल र पियुष चावलाले १-१ विकेट लिए ।
यस जीतसँगै गुजरातले फाइनलमा स्थान बनाएको छ भने उपाधिका लागि आइतबार चेन्नई सुपर किङ्ससँग खेल्ने छ ।

