भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबर्जस्ती मुछ्न खोजियो–ओली
काठमाडौं।नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई कतैबाट नसकेपछि भ्रष्टाचारको कुरामा हिलो छ्याप्ने प्रयास भएको आरोप लगाएका छन् ।
स्थानीय तहमा एमालेबाट निर्वाचित देशभरका जनप्रतिनिधिलाई बुधबार काठमाडौमा प्रशिक्षण दिदै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई जबर्जस्ती मुछ्न खोजेको भन्दै त्यसमा पनि आपत्ति जनाए।
अध्यक्ष ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने जस्तो जघन्य अपराधको घटनामा एमाले संलग्न नभएको तर एमालेलाई नै दोषी देखाउन खोजिएको बताए । शरणार्थी प्रकरणको बाढी आफुतिर आएपछि त्यसलाई एमाले तिर फर्काउने र अरुलाई उन्मुक्ति दिन लागेको भन्दै उनले यसमा मिडिया र सामाजिक सञ्जालबाट समेत एमालेलाई लखेटेको गुनासो गरे।
भ्रष्टाचार कहिले कसरी भएको भन्ने कुराको वास्तविकता विस्तारै खुल्दै जाने भन्दै ओलीले अगाडी भने–‘मेरो नजिक भएका भनिएका मान्छेहरुको नाम कसरी पोल्न लगाउने,कसरी मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने ? भन्दै प्रहरीकहाँ कसैले बयानको क्रममा नाम उच्चारण गर्यो भने मिडीया बोलाउने गरियो। नत्र प्रहरीले बयान लिएकै समयमा मिडिया कसरी त्यहा पुग्यो ?’
ओलीले आफूले जिन्दगीभर भ्रष्टाचारविरोधी अभियान चलाएको र एमालेले भ्रष्टाचारमा संलग्न कसैलाई उन्मुक्ति दिने कुरामा कसैको पक्ष नलिने दावी पनि गरे।

