२० मिनेटलाई स्थगित गरिएको संसद दिनभर चलेन,अब भोलि बस्ने
काठमाडौ,१२ जेठ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बिरोधका बीच प्रतिनिधिसभा बैठक भोलि (शनिबार) दिउसो ४ बजे सम्मका लागि स्थगित भएको छ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक १२.२० मा सुरु भएर १२:४५ मा स्थगित भएको थियो। बैठक सुरु भए लगत्तै एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षका सांसदले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भ्रष्टाचारी भन्न खोजेको भन्दै संसद चल्न नसक्ने बताए। ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथ मन्दीरमा सुनको जलरी लगाउने भनेर पित्तल लगाएको आरोप १० जेठको बैठकमा माओवादी सांसदले लगाएको एमाले भनाइ छ।
सोही बिषयमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने र संसदको रेकर्डबाट उक्त वाक्य हटाउनुपर्ने एमाले माग छ। यदि त्यो नहुदा सम्म सदन चल्न नदिने एमाले अडानले सभामुख देवराज घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरेका थिए।
त्यसपछि पनि बैठक संचालन हुन नसकेपछि सूचना टासेर दिउँसो ३ बजेलाई बैठक बोलाइएको थियो। त्यो समयमा पनि बैठक बस्न नसकेपछि साँझ ६ बजेका लागि पुनः बैठक बोलाइएपनि अन्तिम समयमा भोलि सम्मका लागि स्थगित भएको हो।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले शनिबार दिउँसो ४ बजेका लागि बैठक तय भएको जानकारी दिए।

