ए डिभिजन लिग: खुमलटारमाथि पुलिसको जीत

काठमाडौं, १२ जेठ । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले जीत हासिल गरेको छ । पुलिसले एफसी खुमलटारलाई २-० गोलअन्तरले हराएको हो ।
पुलिसको जीतमा दुवै गोल सब्स्टिट्युट खेलाडीद्वय भरत साह र मोहम्मद आसिफले गरेका थिए । दुवै गोल दोस्रो हाफमा भएका हुन् ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरेपनि गोलमा परिणत भने गर्न सकेनन् ।
दोस्रो हाफको सुरुवातमै पुलिसले गोल गर्ने अवसर बनाउँदा खुमलटारका गोलरक्षक बाधक बन्दै उत्कृष्ट बचाउ गरेका थिए । ७६औं मिनेटमा भरत साहले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
निर्धारित समयको अन्त्यतिर ८८औं मिनेटमा मोहम्मद आसिफले गोल गर्दै पुलिसको २-० को जीत सुनिश्चित गरे ।
यस जीतसँगै पुलिसले महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । खुमलटार भने रेलिगेसनको संघारमा रहेको छ ।

